एकिकृत समाजवादी दाङद्वारा एमसीसीको विरोधमा प्रदर्शन

दाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध मोर्चा संगठन दाङले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) नेपालको हितविपरीत भएको भन्दै पारित नगर्न आग्रह गरेको हो । अमेरिकाले सहयोगको नाममा नेपाललाई प्रयोग गर्न खोजेको भन्दै एकीकृत समाजवादी पार्टी दाङ मोर्चा संगठनका प्रमुख मिना गरुङले कुनै पनि हालतमा एमसीसी नेपालका लागि स्वीकार्य नभएको बताइन् ।
त्यस्तै उनले राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकतामा आँच पुग्ने एमसीसी परियोजना नेपालमा स्वीकार्य हुन नसक्ने बताइन् । कार्यक्रममा खेलकुद महासंघ लुम्बिनी प्रदेश संयोजक डिल्ली डाँगी, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य टंक सुनारलगायतले सम्बोधन गर्दै सहयोगका नाममा देशको हितविपरीत हुने कुनै पनि कार्यमा सम्झौता नगर्न सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन युवा संघ नेपाल दाङका अध्यक्ष हरिश गिरीले गरेका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गरी तुलसीपुरचोक पुगेर कोणसभामा परिणत भएको थियो ।