Ad Area

सामीको परियोजनाको अर्धबार्षिक समीक्षा


दाङ, १४ फागुन । सामी परियोजनाले शुक्रवार घोराहीमा कार्यक्रम गरेर अर्धवार्षिक समीक्षा गरेको छ । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगार अहिले प्रत्येक गाउँ, टोल र घरसम्म जोडिएको हुँदा यसमा देखिएको अप्ठेरा पक्षलाई सुधार गर्नुपर्ने बताए ।

असुरक्षित र लहलहैमा वैदेशिक रोजगारमा जाँदा युवायुवतीले विभिन्न खाले समस्या भोगेको र त्यस्ता समस्याको न्युनीकरण गर्न अब स्थानीय पालिका जिम्मेवार हुनुपर्ने उनले बताए । सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका चौधरीले अब हरेक नागरिक विदेशभन्दा स्वदेशमै उत्पादनमूलक क्षेत्रमा जोडिनुपर्ने बताए ।

उपप्रमुख सिता सिग्देल न्यौपानेले जिल्लाका सबै पालिकाहरूमा यस प्रकारको परियोजना लागू गर्न आवश्यक रहेको बताइन् । यसले नागिरकले सहज रूपमा सेवा पाउने उनको भनाइ थियो । घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिकाबाट सहभागी जनप्रतिनीधिहरूले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनका लागि सामी परियोजनालाई वडा स्तरसम्म लैजानुपर्ने बताएका थिए । कार्यक्रममा सामी परियोजनाले सेवा दिएका सेवाग्राहीहरूको समेत सहभागिता थियो ।

कार्यक्रममा सामीले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि माघको अन्तिमसम्म गरेको कार्य प्रगतिको बारेमा तथ्याङ्कगत विवरण प्रस्तुत गरिएको थियो । सामी परियोजनाकी कार्यक्रम संयोजक बसन्ती पुनले परियोजनाले गर्ने सूचना तथा परामर्श, सीप तालिम, न्यायमा सहजीकरण, वित्तीय व्यवस्थापन र मनोसामाजिक परामर्शको सवालमा भएको कार्यप्रगति विवरण पेस गरेकी थिइन् ।

सामीले जिल्लामा स्थापना गरेको सूचना तथा परामर्श केन्द्रबाट ६ महिनाको बीचमा करिब ४ हजार बढीले सूचना सेवा लिएको उनले जानकारी दिइन् । साथै विदेशमा समस्या परेका, मृत्यु भएका, अलपत्र परेका, बिरामी परेका, ठगीमा परेका एक सय १६ वटा उजुरी सूचना केन्द्रमा दर्ता भएको उनले बताए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३५ जनालाई तालिमको लागि सिफारिस, तीन सय ७८ जना वित्तीय कक्षामा सहभागी र ४५ जनाले अहिले पनि मनोपरामर्श सेवा लिइरहेको उनले बताइन् । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरका सामी परियोजना फोकल पर्सन बासुदेव आर्चायले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad