ध्वनी मतका आधारमा अन्ततः एमसीसी अनुमोदन !

दाङ, १५ फागनु । प्रतिनिधिसभा बैठकले अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन गरेको छ ।
आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गरेका थिए। बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै यस सम्बन्धी छलफल प्रारम्भ भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजी र ‘वेल’ घेराउबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरे।
छलफलमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दुरगामी महत्व राख्ने सम्झौताका बारेमा छलफल गर्दा सबैको सहमति हुँदा उत्तम हुने उल्लेख गर्दै एमसिसी सम्झौताका विस्तृत विवरण हेरेर मात्र छलफल हुनुपर्ने धारणा व्यक्त गरे । सत्तारुढ दलले एमसिसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा उनले यसको कार्यान्वयन गर्ने कानूनी आधार के हुने भनी प्रश्न गरे।
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको जिकिर गरे। गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको उनले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने टिप्पणी गरे ।
नेकपा एमाले सांसद भीम रावलले राष्ट्रिय संवेदनशील विषयलाई संसद् बैठकको होहल्लाका बीच प्रस्तुत गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले एमसिसीका केही प्रावधान राष्ट्रिय हितमा नभएको टिप्पणी गर्दै सो प्रस्तावमा सहमति जनाउन नसकिने बताए ।
कांग्रेस सांसद गगन थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनता सामु झुट नबोल्न सम्झाएका थिए ।
नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले एमसिसीका सम्बन्धमा सत्तारुढ दलहरुबीच भएको व्याख्यात्मक घोषणाकाबारे जानकारी माग गरे । यो विशुद्ध आर्थिक सहयोग परियोजना मात्र हो भन्ने निश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको जिकिर गरे। उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सम्झौता नेपालको हितमा नरहेको भन्दै विरोध जनाईन्।
संसद चलिरहँदा प्रमुख प्रतिपक्षी एमाले सांसदले वेल घेराउ र नाराबाजीलाई निरन्तरता दिएका थिए । सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जनाए पनि सम्झौताविरुद्ध उत्तेजित अभिव्यक्ति दिएका थिए ।