Ad Area

प्रथम खुमबहादुर खड्का भलिबलको उपाधि तुलसीपुरलाई


दाङ,२२ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाकाविच राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो ।

तुलसीपुरले पहिलो सेट जिते पनि त्यसपछिका दुुई सेट खेल लगातार राप्ती गाउँपालिकाले जितेको थियो । बेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा एक सेट जितेर दुई सेट हारेर दवावमा परेको तुलसीपुरले उत्कृष्ट पुनरागमन गर्दै राप्ती गाउँपालिकालाई अन्तिम सेटमा १९–१७ मा हराएको थियो ।

उल्लेख्य दर्शकको सहभागिता रहेको खेलमा तुलसीपुरले राप्तीलाई समग्रमा २५–२०, २३–२५, १९ –२५, २५–१८ र १९–१७ को सेटमा हराउदै जिल्लाकै सर्वाधिक राशीको भलिबल प्रतियोगिताको उपाधिसँगै नगद दुई लाख पाँच हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र जितेको हो ।

तुलसीपुरको जितका लागि नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी ओपन स्पाईकर जर्सी न ४ का खेलाडी मानबहादुर श्रेष्ठ र जर्सी न ६ का खेलाडी धन बहादुर भट्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग चरणको उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकासँग हार व्यहोरेको राप्तीले फाइनलमा बद्ला लिने सपना पूरा गर्न नसक्दा उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।

उपबिजेता भएको राप्ती गाउँपालिकाले नगद एक लाख पाँच रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । राप्तीको टिमबाट पनि नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी जर्सी नं. २ का दिल सुनार र जर्सी नं. ३ का हरि अधिकारीले उत्कृष्ठ प्रदर्शन गरेपनि उपाधि रक्षा गर्न सकेनन् ।

प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृट खेलाडी तुलसीपुर उपमहानगरपालिकाका जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ घोषित भए । उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र हात पारे ।

Blog Post Ad

त्यस्तै वेस्ट स्पाईकर तुलसीपुर उपमहानगरपालिकाकै जर्सी न ६ का धनबहादुर भट्ट क्षेत्री, बेस्ट सेटर जर्सी न २ बिनोद बुढाथोकी, वेस्ट लिब्रो जर्सी न ५ का हरिश बुढाथोकी, वेस्ट ब्लकर राप्ती गाउँपालिकाका जर्सी न ३ का खेलाडी हरि अधिकारी, वेस्ट सरबर राप्तीकै सुवास बोहरा र बेस्ट कोच तुलसीपुरका कमल खत्री घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यता तथा कांग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयको विशिष्ट आतिथ्यतामा भएको थियो । गत फागुन १६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दश वटै पालिकाले सहभागीता रहेको थियो । प्रतियोगितामा जिल्लासहित राष्ट्रियस्तरमा खेलाडीको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad