Ad Area

उचाई नाप्दै औषधी खुवाइँदै


घोराही, २८ फागुन । शनिवारदेखि दाङसहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधी खुवाउने अभियान शुरु भएको छ । हात्तीपाईले रोग निवारण हुन नसकेका दाङ सहित झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, बाँके र कैलाली जिल्लामा औषधी खुवाउन शुरु गरिएको हो ।

हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । सोहि अनुरुप दाङमा पनि शनिबारदेखी जिल्लाका दश वटै पालिकामा औषधी खुवाउन सुरु गरिएको छ । उचाई नाप्दै औषधी खुवाउने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

पहिलो दिन सम्बन्धित स्वास्थ्य संस्था र तोकिएको बुथबाट औषधी खुवाईएको छ । अब आईतबारदेखी प्रत्येक नागरिकका घरघरमा पुगेर औषधी खुवाईनेछ । यसैबिच नेपाल रेडक्रस सोसाईटी दाङ जिल्लाको ३८औं जिल्ला सभा हात्तीपाइले रोगविरुद्धको औषधी खाएर उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला भरीका १६ वटा उपशाखाका प्रतिनिधि, जिल्ला कार्यसमिति लगायतको उपस्थिति रहेको थियो । यस्तैगरी तुलसीपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्था र तोकिएको बुथबाट औषधी खुवाईएको छ । जिल्लाका सबै पालिकामा हात्तीपाईले विरुद्धको आम औषधी सेवन कार्यक्रम सफल बनाउन सार्वजनिक स्थल, होटल, कार्यालयहरुमा पुगेर स्वास्थ्यकर्मीहरुले सहयोग गरिरहेका छन् ।