Ad Area

लामिछानेले जितिन मेधावी छात्रा २०७८ को उपाधि


तुलसीपुर, २९ फागुन । मेधावी छात्रा २०७८ को उपाधि तुलसी मावि विद्यालय तुलसीपुरकी छात्रा सुगारिका लामिछानेले जितेकी छिन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको आयोजनामा हुने गरेको मेधावी छात्रा प्रतियोगिता सम्पन्न भएको हो ।

मेधावी छात्रा–२०७८ को शनिबार दाङको तुलसीपुर सम्पन्न भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याब्सन दाङको मेघावी छात्रा प्रतियोगिता प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सदस्य केशव थापाको प्रमुख आतिथ्य तथा प्याब्सन दाङका पूर्व सल्लाहकार भीष्मबहादुर केसीको विशिष्ट आतिथ्यमा सम्पन्न थियो ।

एपेक्स कम्प्युटर प्रा.लि.को प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा सञ्चालन गरिने उक्त कार्यक्रममा दाङ जिल्लाका ३३ बटा संस्थागत माध्यमिक विद्यालयका ९७ जना छात्राहरु सहभागी भएका थिए । गणित, अंग्रेजी र विज्ञान विषयमा आधारित प्रश्नहरू सोधिने गरेको मेधावी छात्रामा कक्षा १० मा अध्ययनरत सहभागी हुने प्रावधान रहेको छ ।

प्याब्सन दाङको आयोजना तथा एपेक्स कम्प्युटरको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया सहकार्यमा वि.सं. २०६३ सालदेखि हुँदै आएको छ । मेधावीको उपाधि जित्न सफल सुगारिका लामिछानेले सयौ छात्राहरुलाई उछिन्दै आफू पहिलो भएको भन्दै खुसी व्यक्त गरिन् । उनले आफू मेधावी छात्रा–२०७८ को विजेता भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘सबैको साथ र सहयोग र मेरो लगनशीलताले म सफल भएको हुँ’, उनले भनिन् ।

लामिछानेले घर–परिवार, शिक्षक, आयोजक र विद्यालय परिवारलाई धन्यवादसमेत दिइन् । उनले आफ्नो यसपछि डाक्टर पढ्ने सोच रहेको पनि सुनाइन् । ‘मलाई अत्यन्त गर्व लागेको छ, सयाँैलाई पछि पार्दै मैले उपाधि चुमे आगामी दिनमा पनि साथ र सहयोग हुनेछ, म विश्वस्थ छु ।’ उनले यो सफलताले आफू उत्साही भएको बताइन् ।

त्यस्तै तुलसी मावि विद्यालयमा प्रधानाध्यायपक भीष्मबहादुर केसीले पनि इमानदारिता, परिश्रम र लगनशीलताको कारणले यो उपाधि चुमेको भन्दै आफू खुसी भएको बताए । उनले आफ्नो विद्यालयका छात्राहरुले सातौँपटक उपाधि चुम्न सफल भएको भन्दै पहिलो उपाधि पनि स्कुलले लिएको बताए । ‘गत बर्ष पनि यही विद्यालयकी छात्राले उपाधि चुमेकी थिइन्, पहिलोदेखि यस बर्ष पनि यही विद्यालयकी छात्राले उपाधि जित्नुभएको छ, यसले हामीलाई पनि हौसला बढाएको छ’, उनले भने ।

Blog Post Ad

केसीले विद्यालयबाट मेधावी छात्रा भएकाहरु अहिले सबै डाक्टर भएको बताए । यसमा विशेष गरी अंग्रेजी, गणित र विज्ञानसम्बन्धी ज्ञान हुने भन्दै एसईईदेखि कक्षा ११, १२ लगायत सबैमा दोहोरो फाइदा हुने बताए । ‘यो तयारीले पछि पनि काम गर्छ यसले दोहोरो फाइदा दिन्छ एउटा विजेता अर्को प्राविधिक लाइनको शिक्षा आर्जन गर्नका लागि’, उनले भने । उनले यसमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । ‘यसले विद्यालयको नाम, स्वयं विद्यार्थी र सवै क्षेत्रमा फाइदा छ, म यसमा निकै खुसी छु’, केसीले भने ।

Blog Post Ad Blog Post Ad