Ad Area

सोरठी गाउँमा खानेपानीको ट्यांकी निर्माणको काम सुरु


दाङ, १ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर २ सोरठी गाउँमा खानेपानीको ट्यांकी निर्माणको काम सुरु भएको छ । सोरठी खानेपानी सरसफाई तथा उपभोक्ता समितिको आयोजनामा मंगलबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खानेपानी ट्यांकीको शिलन्यास गरेका छन् ।

समितिका अध्यक्ष रते वलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले ट्यांकीको शिलन्यास गर्दै नागरिकहरुलाई सुरक्षित पिउने पानी वितरणले छिट्टै पूर्णता पाउने बताए । आफु २०५४ सालमा तत्कालिन रामपुर गाबिसको अध्यक्ष हुदा देखी नै त्यस क्षेत्रको विकासमा लागि परेको भन्दै अहिले सडक पु¥याउन सफल भएको र छिट्टै पिउने पानी पनि वितरण गरिने जानकारी दिए ।

निकै विकट बस्तीमा यो बर्ष सडक पुगेको र आगामी असार सम्म पिउने पानीको सहज उपलब्धता गराउने प्रतिबद्धता गरेका छन् । ७८ लाख रुपैयाँको लागतमा डोको कन्सल्टेन्ट एण्ड कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको छ । ट्यांककीको शिलन्यास गरेकै दिनबाट निर्माण कम्पनीले काम शुरु गरेको प्रालीका सञ्चालन इन्जिनियर रमेश घिमिरेले जानकारी दिए । संघिय सरकारको बिषेश अनुदानको रकमबाट त्यहाँका ५४ घरधुरी नागरिकहरुलाई पिउने पानीको व्यवस्था गर्न थालिएको उपमहानगरको पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिएका छन् ।

५० ÷५० हजार लिटर पानी अट्ने तीनवटा ट्यांकी र मुहानमा थप अर्को सानो ट्यांकी निर्माण हुने छ । निर्माण कम्पनीको प्रतिनिधी घिमिरेले ट्यांकी निर्माण, पाईपलाईन र सोलार जडानको काम एकै पटक शुरु गर्ने बताए । शिलन्यास कार्यक्रममा इन्जिनियर तथा प्राविधिकहरु बलदेव रेग्मी, सूर्य रावत, जीवन आचार्य, मधुसुदन खतिवडा, ओमप्रकाश बस्नेत सहितको टोली सोरठी पुगेको थियो ।

भुगोलको हिसाबले निकै दुर्गम र पानीको मुहान टाढा भएकाले कष्ठपूर्ण अबस्थामा पानीको जोहो गर्दै आएको र लिफ्टीङ प्रणालीबाट पानी गाउँमा पुग्ने भएपछि स्थानियहरु खुशी भएको केशे खत्रीले बताए । ५४ घरधुरीलाई पायक पर्ने गरी १६ वटा धाराहरु समेत निर्माण हुने छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad