Ad Area

प्रदेश पूर्वाधार : तीन बर्षमा चार पुल, १२ किलोमिटर सडक कालोपत्रे


दाङ,१ चैत । दाङमा तीन बर्षको अवधिमा प्रदेश सरकारबाट चार वटा पक्की पुल निर्माणसँगै १२ किलोमिटर सडक कालोपत्रे भएको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार आर्थिक बर्ष २०७५÷०७६देखि आर्थिक बर्ष २०७७÷०७८ को हालसम्मको तीन बर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चार वटा पक्की पुल निर्माणसँगै १२ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

२०७५ मंसिर महिनामा कार्यालय स्थापना भएपछि गाउँपालिकाको पहुँजमार्ग अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा पक्की पुल, सडक र झोलुंगे पुल निर्माणको काम गर्दै आएको छ । जसअन्तर्गत अहिलेसम्म चार वटा पुलहरु निर्माण भएको पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी तथा इन्जिनियर चन्द्रबहादुर शाहले जानकारी दिएका छन् । सूचना अधिकारी शाहका अनुसार अरु बाँकी आठ वटा पुलहरु निर्माणका क्रममा रहेको र दुई वटा पुलहरु यसैबर्ष निर्माण हुने बताए ।

‘कार्यालय स्थापना भएपछि अहिलेसम्म चार वटा पक्की पुलहरु निर्माण गरेका छौ’,सूचना अधिकारी शाहले भने,‘बाँकी अरु आठ वटा पुलहरु निर्माणका क्रममा छन् । ती मध्य दुई वटा पुल यसैबर्ष निर्माण हुनेछन् ।’ उनका अनुुसार कार्यालयले बबई नदी अन्तर्गत नैनवार–बेलहरीलगायतका स्थानमा पुलहरु निर्माण भएका छन भने घोराहीको कटुवाखोला,सिस्नेखोलगायतका स्थानमा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

जिल्लामा ग्रामीण सडकहरुको विस्तारसँगै विकास गर्ने क्रममा कार्यालयले विभिन्न स्थानमा गरी १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । पक्की नाला र फुटपातसँगै कार्यालयले घोराहीको सर्रा–सौडियार, बिपी राजमार्ग अन्तर्गत लक्ष्मीपुर–सिमलतारालगायतजिल्लाका दश वटै स्थानीय तहहरुमा सडकहरु कालोपत्रे काम गरेको सूचना अधिकारी शाहले बताए ।

‘सडकको पहुँज नभएको स्थानमा नयाँ ट्«याक खन्नेदेखि साघुरो सडक भएको स्थानमा सडक विस्तार गरेर सडक कालोपत्रे गर्ने काम भैरहेको छ’,सूचना अधिकारी शाहले भने,‘जसमा अहिलेसम्म १२ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिएको छ ।’ उनले यो अवधिमा जिल्लामा सडकको पहुँच नै नभएको स्थानमा दश किलोमिटर सडकको नयाँ ट्याक खन्ने काम गरिएको बताए ।

त्यसैगरी ४० किलोमिटर सडक चौडा गर्ने, २० किलोमिटर सडक विस्तारसँगै रोलिङ गरेर ग्राभेल गरिएको बताए । यसक्रममा १ सय २५ वटा कल्भर्ट निर्माण गरिएको सूचना अधिकारी शाहले जानकारी दिए । १ सय २५ कल्भर्टहरु मध्य सवैभन्दा धेरै प्रदेशको गौरवको सडक योजनाका रुपमा रहेको ‘कुइरेपानी–सर्रा बाइपास सडक’ खण्डमा मात्रै ४४ वटा कल्भर्ट निर्माण भएको र एउटा पुल निर्माणको अन्तिम चरणमा रहेको बताए । यसरी करिव तीन बर्षको अवधीमा करिव सवा करोड बजेट खर्च भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Blog Post Ad

कार्यालय स्थापना भएको तीन बर्ष भएपनि दुई बर्ष कोरोना महामारीको कारण जिल्लामा अपेक्षा अनुसार काम हुन नसकेको बताए । त्यसैमा कम जनशक्ति भएका कारण कार्यालयले सोचे अनुसारको उपलव्धी हासिल गर्न नसकेको बताए ।

‘तीन बर्षको अवधिमा राम्रोसँग काम गर्न पाएको भए धेरै काम देखिने थियो तर वितेका दुई बर्ष कोरोना महामारीका कारण काम गर्न समस्या भयो’,उनले भने,‘त्यही जोखिमपूर्ण अवधिमा पनि केही सडक तथा पुल निर्माणका क्षेत्रमा काम गरेका छौ ।’ उनका अनुसार यसबर्ष एक सय ५६ सडक तथा पुलका योजनाहरुमा काम भैरहेको बताए ।

जसमा १७ वटा योजनाहरु एक करोडभन्दा बढी भएकाले बहुबर्षीय योजना अनुसार काम भैरहेको र बाँकी एक सय ३९ वटा योजनाहरु यहि आर्थिक बर्ष सक्ने गरि काम भैरहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जसमा सडक तथा पुल निर्माणका लागि करिव ९४ करोड ९ लाख, सडक पुल मर्मत तथा सडक सुरक्षाका लागि ७ करोड ६५ लाख र संघसर्सत अनुदानतर्फ दुई करोड ४० लाख रुपैया रहेको छ ।

उक्त बजेट अन्तरर्गत हालसम्म सडक तथा पुल निर्माणमा ११ करोड ६८ लाख र सडक पुल मर्मत तथा सडक सुरक्षा कार्यक्रमअन्तर्गत ८५ लाख ६७ हजार रुपैया मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad