Ad Area

पाँचौँ हाप्किडो च्याम्पिनयशीपमा देशभरबाट हजारौँ खेलाडी सहभागी


चकचके, ६ चैत्र । पाँचौँ राष्ट्रिय मार्सल आर्टस् हाप्किडो च्याम्पिनयशीप प्रतियोगिता भव्य रुपमा शुरु भएको छ । प्रतियोगिता प्यूठानको माण्डवी गाउँपालिका जस्पुरमा शनिबारबाट शुरु भएको हो । एक भव्य समारोहका बीच लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य हरिप्रसाद रिजालले उद्घाटन गरे ।

मार्सल आर्टस् हाप्किडो संघका प्युठान अध्यक्ष एवं लुम्बिनी प्रदेश उपाध्यक्ष टेकराज केसीको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथि रिजालले खेलकुदको विकासका लागि ग्रामीण क्षेत्रमा रहेका बालबालिकाहरुको आकर्षणलाई मध्येनजर गर्दै हाप्किडोले थालेको अभियान निकै प्रशंसनीय भएको बताए ।

खेलकुदको विकासका लागि प्रदेश सरकारले अघि सारेको नीतिलाई वर्तमान सरकारले अपनत्व लिनुपर्ने बताउँदै उनले अहिले नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढ्दै गएकोमा अभिभावकहरुको सहयोग अझ तारिफ योग्य भएको बताए । बालबालिकाहरुको उज्वल भविष्यका लागि खेल पूर्वाधार विकासमा राज्यको ध्यान जान आवश्यक रहेको उनले चर्चा गरे । ‘खेलाडीलाई खेल खेल्ने वातावरण बनाउन राज्यले गम्भीरताका साथ ध्यान दिनपर्छ, यसका लागि पूर्वाधार विकास पहिलो प्राथमिकतामा पर्नुपर्छ’ उनले भने, ‘यो प्रतियोगिताले देशमा खेल प्रति नयाँ पुस्ताको आकर्षण कस्तो छ भन्ने पुष्टि हुन्छ ।’

लुम्बिनी प्रदेशसहित देशभरबाट १० हजार खेलाडी सहभागी भएको भव्य कार्यक्रममा शहरदेखि गाउँसम्मका खेलाडीलाई एकै थलोमा राखेर प्रतियोगितामार्फत प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको छ । जसका लागि हाप्किडो च्याम्पियनशीप आयोजना गरिएको नेपाल मार्सल आर्टस हाप्किडो दक्षिण एशियाली महासंघ अध्यक्ष कालीबहादुर घर्तीले जानकारी गराए ।

Blog Post Ad

हाप्किडोका माध्यमबाट स्वस्थ्य नागरिकसँगै रोजगार र आत्म निर्भर बनाउने गरी सीपसहितको जनशक्ति उत्पादन गर्ने दीगो लक्ष्य लिएर देशैभर अभियान अघि बढाइएको उनको भनाई छ । हाल देशका ६० जिल्लामा हाप्किडोको शाखा बिस्तार भएको छ । विद्यालय उमेर समुुहबाटै बालबालिकाहरुलाई आत्म रक्षा, आत्मविश्वास, सीपमा सहजीकरण र अनुशासन सिकाउने गरी हाप्किडोको अभियान अघि बढेको उनले बताए । ‘हामीले खेलमार्फत आफुलाई प्रमाणित गर्न सक्नेलाई वातावरण दिने गरी हामी अघि बढेका छौँ, यसका लागि हरेक स्कुलमा निशुल्क सीप सिकाउने काम गर्दै आएका छौँ,’ उनले भने, ‘यो अभियान देशलाई स्वस्थ नागरिक दिने अन्तिम लक्ष्य हो ।’

सोमबारसम्म चल्ने च्याम्पिनशीपमा स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका, माण्डवी गाउँपालिका उपाध्यक्ष मुगा पुन, प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाल, ईन्द्रजित गणका सेनानी सबिन विक्रम कवँरलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न माण्डवी गाउँपालिकाले सहयोग गरेको छ ।

सो अवसरमा विभागीय टोली नेपाल प्रहरी स्कुलको डेमोन्स्ट्रेशन प्रस्तुत गरेको थियो । सात वटै प्रदेशसहित विभागीय नेपाल प्रहरी स्कुल गरी ८ वटा टोली प्रतियोगितामा सहभागी भएको छ । कार्यक्रम गर्नुअघि बाजागाजासहित झाँकी र्याली निकालिएको थियो ।

जिल्लामा देशभरबाट खेलाडी प्रतियोगिताका लागि आएपछि माण्डवी गाउँपालिकाका होटल व्यवसायी पनि उत्साहित भएका छन् । खेलले अरु क्षेत्रलाई पनि सकारात्मक प्रभाव पारेकाले स्थानीय अर्थतन्त्रमा यसको सकारात्मक असर पर्ने अवस्था भएको होटल व्यवसायीहरुले बताएका छन् ।

Blog Post Ad Blog Post Ad