Ad Area

देशलाई बलियो कांग्रेस आवश्यक : सहमहामन्त्री पाण्डेय


गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस

दाङ, ८ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेयले देशबाट कम्युनिष्टको भूमिकालाई कमजोर बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलव्धिमूलक बनाउनका लागि देशमा बलियो शक्तिशाली कांग्रेसको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेसका पूर्व सभापति एवं शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेयले यस्तो अभिव्यक्ति दिए ।

कम्युनिष्टको हातमा सत्ता पर्दा बिग्रिएको देशको अवस्थालाई सुधार गर्नका लागि आगामी निर्वाचनमा कांग्रेसलाई शक्तिशाली पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताए । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु सुदृढ बन्दै आफू हारे पनि पार्टीलाई जिताउने संकल्प गर्नुपर्ने बताए । ‘कम्युनिष्टको हातमा सत्ता सुम्पदा देश बन्दैन भन्ने प्रमाणित भैसकेको छ’, कार्यक्रमका प्रमुख बक्ता रहेका पाण्डेयले भने– ‘यो कुरा जनतालाई बुझाउने र कांग्रेसका नेतादेखि कार्यकर्ताहरु सच्चिए भने आगामी निर्वाचनबाट बलियो कांग्रेस बन्छ ।’ उनले त्यसका लागि कांग्रेस जनताको घर–घरमा पुगेर जनतासँग संवाद गर्नुपर्ने बताए ।

कांग्रेस जनतादेखि टाढा बन्दा गएको निर्वाचनमा कांग्रेसले हार ब्यर्होनुपरेको भन्दै त्यसबाट पाठ सिक्दै कांग्रेस जनताको घरदैलोमा पुगेर जनतासँग संवाद गर्ने र जनताका गुनासाहरु सम्बोधन गर्नेगरी लाग्न आग्रह गरे । निर्वाचन आउन दुई महिनामात्र बाँकी रहेको भन्दै उनले त्यसो गर्न नसकिए फेरि कांग्रेसले हार्ने र देश झन कमजोर अवस्थामा पुग्ने बताए । ‘कांग्रेसका लागि यो उपयुक्त समय हो ।

अहिले जनतालाई बुझाउन सकियो भने आउने चुनावमा कांग्रेसले धेरै ठाउँ जित्न सक्छ’, उनले भने– ‘त्यसका लागि कम्युनिष्टले गरेका भ्रमहरु जनतालाई बुझाउन आवश्यक छ ।’ उनले एमसीसी पासले अन्तर्राष्ट्रिय जगतदेखि नेपालभित्र पनि बौद्धिक लेवलमा कांग्रेसले विश्वास कमाएको भन्दै एमसीसी बारे कम्युनिष्टले जनतामा फैलाएको भ्रमलाई कांग्रेसले चिर्ण आवश्यक रहेको भनाइ थियो ।

उनले नेपाली राजनीतिक क्षेत्रमा क्रान्ति र शान्ति नायकका रुपमा रहेका गिरिजाप्रसाद कोइरालाले राजतन्त्रका विरुद्धमा आन्दोलन गर्दै जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि नेतृत्वदायी भूमिका नखेलेको भए अहिलेको उपलब्धि प्राप्त हुन नसक्ने बताए । स्वर्गीय गिरिजाप्रसाद कोइरालाकै नेतृत्व, संघर्ष, त्याग र साहसिक कदमले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको भन्दै उपलब्धिको दीर्घकालीन विकासका लागि सबैका बीचमा संवाद, सहमति र सहकार्य अनिवार्य रहेको बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले जंगलमा रहेको माओवादीलाई सेफल्याण्ड गराउँदै देशलाई शान्तिको मार्गमा हिँडाएर अहिलेको अवस्थामा ल्याउन स्व. गिरिजाप्रसाद कोइरालले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । दुई सेनाबीचको सशस्त्र द्वन्द्वका क्रममा कोइरालाले जोखिम मोलेर देशलाई शान्तिपूर्ण रुपमा अवतरण गराएको बताए ।

साथै उनले देशको स्वतन्त्रता, सार्भभौमिकतालाई बचाउँदै मानवअधिकार, प्रेस स्वतन्त्रता र नागरिक अधिकार स्थापित गर्ने सफल क्रान्ति नायक व्यक्ति भएको बताए । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले कांग्रेसलाई जनताको घर–घरमा लग्दै संगठित बनाएर अघि बढ्न नेता तथा कार्यकर्ताहरुले सिक्नुपर्ने बताए ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले कांग्रेसलाई बलियो बनाउँदै राजनीति एवं सामाजिक परिवर्तनको नेतृत्वकर्ता स्व. कोइरालाको जीवनीबाट नेता तथा कार्यकर्ताले धेरै कुरा सक्दै पार्टीलाई हरेकको घरमा पु¥याउन भूमिका खेल्नुपर्ने बताए । कांग्रेसका पूर्व सभापति बीरकेशरी गौतमले इतिहासमा सफल र निडर नेतृत्वदायी क्षमता भएका शिखर पुरुषले नेपालका तीनवटा आन्दोलनको सफल नेतृत्व गर्ने व्यक्ति भएको बताए ।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठले कांग्रेसलाई सफल र प्रमुख पार्टी बनाउनका रुपमा स्थापित गर्नका पार्टी नेतृत्व गर्ने व्यक्तिहरुसँगै कार्यकर्ताहरु स्व. कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने बताए । कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि भूपबहादुर डाँगीले पार्टीलाई एकढिक्का राख्नदेखि जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशलाई शान्तिको बाटोमा हिँडाउन महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेय, महासमिति सदस्य सुशीला थापा, जिल्ला समन्वय समितिका सदस्य लोका बिक, नेपाली कांग्रेस दाङका पूर्व कोषाध्यक्ष साबित्रा राना, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल दलित संघका पूर्व केन्द्रीय उपाध्यक्ष खड्गबहादुर बिश्वकर्मा, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्मा लगायतले स्व. गिरिजाप्रसाद कोइरालाको जीवनीको चर्चा गरेका थिए ।

उपसभापति प्रकाश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्षेत्रीय सल्लाहकारसमेत रहेका डा. बिनबहादुर वलीले स्व. कोइरालाको योगदान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उपसभापति अभियान बस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हिमबहादुर डाँगीले गरेका थिए ।

कोइरालाको चाहना भौतिक शान्ति मात्रै थिएन : हमाल

यसैबीच नेपाली कांग्रेसका तुलसीपुर नगरसभापति सुरेश हमालले शान्तिदूत स्व. गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा अहम् भूमिका खेलेको स्मरण गर्दै उहाँले चाहेको जस्तो शान्ति मुलुकमा स्थापित नभैसकेको बताएका छन् ।

सोमवार तुलसीपुरको वडा भेलामा बोल्दै सभापति हमालले स्व. कोइरालाको मिशन मूर्दाशान्तिजस्तो मात्र नभएर शान्ति बृहत आर्थिक समृद्धिसँग पनि जोडिएको स्मरण गरे । अहिले मुलुकमा बमबारी र गोलावारी रोकिएको छ, तर मुलुक आर्थिक रुपमा आक्रान्त र थप अशान्त बन्दै गएको पनि उनको अभिव्यक्ति थियो ।

‘कोइरालाले दश बर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा प्रवेश गराउँदा कांग्रेसले हार्छ भन्ने अवश्य थाहा पाउनुभएको थियो, तर देशले जित्छ भने एकपटक कांग्रेसले हार्दैमा मुलुक बर्बाद हुने छैन भनेर माओवादीलाई जंगलबाट उठाएर सोझै संसदमा बसाउने साहस गर्नुभो’, सभापति हमालले भने– ‘तर मुलुकमा अहिले स्व. कोइराले चाहेको जस्तो शान्ति र समृद्धि संस्थागत हुन सकेको छैन ।’

उनले अगाडि भने– ‘स्व. कोइरालाको शान्ति अभियानप्रतिको उच्च सम्मान त्यो बेला हुनेछ, जब मुलुकमा आर्थिक समृद्धिका ढोकाहरु खुल्ने छन्, विकास निर्माणले गति लिने छ र मुलुकमा शुसासन एवं पारदर्शिताको अवस्था मजबुत हुनेछ ।’

Blog Post Ad Blog Post Ad