सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ !

दाङ १०, चैत्र । दाङमा सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकी छन्। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं ७ राउतराकी ६५ वर्षीया सासु कमिनी कुँवरको हत्या गरेको अभियोगमा बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ।
सासु कमिनी चैत ८ गते दिउँसो साढे १२ बजे शान्तिनगर ६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न भनेर गएको बेलामा सो घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
कमिनी केराउ लिएर राउतरास्थित घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारी कुमारीले धारिलो हतियार छुरी प्रहार गरी हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले बताए। स्थानीयले कमिनीको शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेपछि घटना अनुसन्धानका लागि अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुँदालीसहितको टोली अनुसन्धानका लागि खटिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट बुहारी कुमारीको संलग्नता देखिएपछि प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको थियो। बुहारी कुमारीले सासुलाई धारिलो हतियार चक्कु र हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको अर्यालले बताए। पक्राउ परेकी बुहारी कुमारीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार दाङ जिल्ला अदालतले अनुमति दिएको डिएसपी अर्यालले जानकारी दिए।
सासु कमिनीले बुहारी मन नपरेको भनेर छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले बुहारी कुमारीले सासुलाई केराउ टिपेर फर्किँदै गर्दा हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए। घटनाबारे थालिएको उनले बताए ।