Ad Area

दाङ क्रिकेट लिगको तयारी अन्तिम चरणमा


दाङ, १० चैत । दाङ क्रिकेट लिगको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । दाङ क्रिकेट संघको आयोजनामा यहि चैत १२ गतेदेखि १७ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरिया क्रिकेट मैदानमा हुन थालेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।


लिग सञ्चालन हुने दिन नजिकिदै गर्दा क्रिकेट मैदानको घाँस काटेर फिल्ड सम्याउने र सफा गर्ने काम सकिएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक मैदानमा तीन वटा पिच निर्माण गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

उनका अनुसार पिच निर्माणका लागि टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका क्यूरेटर विसनकुमार मण्डलको नेतृत्वको टिमले काम गरिरहेको छ । त्यसैगरी पेभेलियन बक्स, मिडिया बक्सलगायतका क्रिकेट खेल्नका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष मजगैयाले बताए । खेलाडीलाई खेल्न सहज होस भनेर मैदानको दुवै छेउमा ठूला साइडस्क्रिन राख्ने काम सकिएको छ ।

निजी क्षेत्रबाटै स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडी खरिदविक्रि गरेर प्रतियोगिता आयोजना गरिनु दाङको इतिहासमै पहिलो अभ्यास भएकाले आगामी दिनहरुमा खेलमा लगानीसँगै पूर्वाधार विकासमा आकर्षण बढ्ने बताए । जसले दाङको खेलकुद क्षेत्रको प्रर्वद्धनसँगै खेलाडीहरुलाई खेलप्रति आकर्षण बढाउने छ ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाका अनुसार यी टिममा जिल्लाका उदीयमान खेलाडीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका करीव एक सय खेलाडीहरु क्लवमा समावेश भएर प्रतियोगिता खेल्नका लागि घोराहीमा आएर नियमित अभ्यास गरिहेका छन् । जिल्लाका दशवटै पालिकाहरुलाई समेटिएर बनाइएको टिमहरुको नेतृत्व जिल्लाकै राजनीतिक दल तथा व्यवसायीहरुले लिएका छन् ।

जिल्लामा पहिलो पटक हुन थालेको अक्सनमा आधारित प्रतियोगिताले जिल्लाको खेलक्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने नेपाल क्रिकेट संघ (क्यान)का लुम्विनी तथा कर्णाली प्रदेश सदस्य एवं क्रिकेट संघ दाङका सल्लाहकार कैलाश मगरले जानकारी दिए । प्रतियोगिताले नयाँ र अनुभवी खेलाडीविचको खेलले सम्वन्ध स्थापित मात्र नभई दाङको खेल क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास उनको छ ।

कोरोनाका कारण ठप्प प्रायजस्तै रहेको खेलक्षेत्रलाई पुनर्जीवित गर्न र खेलका माध्यमबाट यहाँको आर्थिक, पर्यटनलगायको विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।