Ad Area

दाङ क्रिकेट लिग–२०७८ दाङमा क्रिकेटको महासंग्राम आजदेखि


घोराही, १२ चैत्र । दाङको क्रिकेट इतिहासमा निकै महत्वका साथ हेरिएको ‘दाङ क्रिकेट लिग’ को ट्रफी सार्वजनिक गरिएको छ । आजदेखि दाङको घोराही १७ गुलरिया क्रिकेट मैदानमा हुुन लागिरहेको प्रतियोगिताको ट्रफी शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

उक्त ट्रफी प्रेस काउन्सिलका सदस्य एवं दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार शरद अधिकारीले सार्वजनिक गर्नुभयो । संघका अध्यक्ष एवं लिग संयोजक प्रदीप मजगैयाले भोलिबाट आगामी १७ गतेसम्म हुन लागेको लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्ने भएका छन् । सो अवसरमा लिग संयोजक एवं दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, नेपाल क्रिकेट संघ (क्यान)का लुम्विनी तथा कर्णाली प्रदेश सदस्य एवं क्रिकेट संघ दाङका सल्लाहकार कैलाश रोकामगर, संघका जिल्ला सल्लाहकार किशोरचन्द्र गौतम, निरन्जन राजभण्डारी, संघका सचिव सञ्जु क्षेत्री, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसी उपस्थित हुनुुभएको थियो ।

जिल्लाको क्रिकेट इतिहासमा खेलाडी किनबेच गरेर व्यावसायिक रुपमा खेलाउन थालिएको प्रतियोगिताले क्रिकेटको प्रवद्र्धनसँगै खेलाडी उत्पादनमा टेवा पुुग्ने अपेक्षा गरिएको छ । लिगका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक मैदानमा तीन वटा पिच निर्माण, पेभेलियन बक्स, मिडिया बक्सलगायतका क्रिकेट खेल्नका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम पूरा भएको लिग संयोजक मजगैयाले बताउनुुभयो ।

‘जिल्लाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिताले आगामी दिनमा जिल्लाको क्रिकेटको स्तर मापन गर्नेछ’, अध्यक्ष मजगैयाले भन्नुुभयो, ‘फ्रेन्चाईजमार्फत अक्सनबाट खेलाडी किनबेच गरी व्यावसायिक लिग खेलाउनु हामी सबैका लागि नौलो अनुुभव हो, हामी निकै उत्साहित छौँ ।’ प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । टिममा जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका अनुुभवी खेलाडी सामेल भएकाले प्रतियोगिता निकै रोमाञ्चक हुने खेलप्रेमी र शुुभेच्छुकहरुको अपेक्षा छ ।

निजी क्षेत्रबाटै खेलाडी खरिद विक्रि गरेर प्रतियोगिता आयोजना गरिनु दाङको इतिहासमै पहिलो अभ्यास भएकाले आगामी दिनहरुमा खेलमा लगानीसँगै पूर्वाधार विकासमा आकर्षण बढ्ने र प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुुग्ने विश्वास लिईएको छ । यी टिममा जिल्लाका उदीयमान खेलाडीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका खेलाडीहरु क्लवमा समावेश भएर प्रतियोगिता खेल्न लागेका छन् ।

टिमहरुको नेतृत्व जिल्लाकै राजनीतिक दल तथा व्यवसायीहरुले लिएका छन् । ‘सरकारी स्तरबाट जिल्लामा राष्ट्रियस्तरका प्रतियोगिताहरु भएका छन्, तर निजी क्षेत्रबाट खेलाडी खरिद विक्रि गरेर पहिलो पटक ठुलो प्रतियोगिता हुदैछ’ लुम्बिनी तथा कर्णाली प्रदेश सदस्य रोका मगरले भन्नुुभयो, ‘यसले खेलक्षेत्रको विकाससँगै लगानीका लागि समेत स्थानीय सरकारलाई आकर्षित गर्नेछ भने खेल क्षेत्रको पूर्वाधार विकासमा कोशेढुंगा सावित हुनेछ ।’ लिगका लागि घोराही उपमहानगरपालिका संरक्षक बनेको छ भने राप्ती गाउँपालिका र बबई गाउँपालिकाले सहयोग गरेको छ ।

आज शनिबार बिहान ८ बजे हुने लिगको उदघाटन घोराही उपमहानगरपालिकाका नगरप्रंमुुख नरुलाल चौधरीले गर्नुहुने भएको छ । यसैबीच, आज हुने उदघाटन खेलमा बिहान ८ बजेपछि घोराही टाईगर्स र देउखुरी वारियर्सबीच प्रतिष्पर्धा हुनेछ भने दिउँसो १ बजेपछि हुने खेलमा पुरन्धारा च्यालेन्जर्स र दंगाली लायनबीच प्रतिष्पर्धा हुने भएको छ ।