Ad Area

हातहतियार बुझाउन प्रशासनको आग्रह


घोराही, ११ चैत । निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय दाङले वैध र अवैध हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै इजाजत प्राप्त र बिना इजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

इजाजत प्राप्त हातहतियार भने स्थानीय तहको निर्वाचनपछि फिर्ता गरिने बताइएको छ । बिना इजाजत तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।

निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार बुझाउन लगाइएको अधिकारी रेग्मीले जानकारी दिएका छन् । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने कार्यतालिका रहेको छ ।

Blog Post Ad Blog Post Ad