Ad Area

‘आफैले मान्छे मारेको देख्नुभयो भने के गर्नुहुन्छ ? ’


तुलसीपुर, १२ चैत । तुलसीपुर मेट्रो कलेज बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थी विपना गिरीले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षितलाई प्रश्न गरिन्, ‘आफ्नै आँखाले मान्छे मारेको देख्नुभयो भने मुद्दा कसरी लड्नुहुन्छ’, उनकै प्रश्नलाई सघाएर श्रेया गौतमले सोधिन्, ‘न्यायाधीशको आँखाले नै देखेको अपराधमा मुद्दा लड्दा के हुन्छ ?’ गौतमले १८ वर्ष नपुगेको बालिका नाबालिक हुने तर बालक किन नाबालिक नहुने भनेर प्रश्न पनि गरिन् ।

मुख्य न्यायाधीश दीक्षितले न्यायिक प्रक्रियामा न्यायाधीशले आफैले देखेको घटनाको फरक तरिकाले न्याय निरूपण नहुने बताइन् । ‘प्रत्यक्षदर्शीका हिसाबले घटनाको विवरण प्रशासनलाई जानकारी गराउनु बाहेक अन्य विकल्प केही हुँदैन’, उनले भनिन् । न्यायाधीश दीक्षितले आँखाले भन्दा पनि प्रमाणित डकुमेन्ट र वयानका आधारमा न्यायको छिनोफानो हुने बताइन् ।

तुलसीपुर उच्च अदालतले राखेको न्यायिक संवादन कार्यक्रममा कानुनका विद्यार्थीहरूले अनेकन प्रश्न र गुनासा गरेका थिए । विद्यार्थी देविसरा वलीले सर्वोच्च अदालतको मुख्य न्यायाधीशलाई राजनीतिक बाटोबाट नियुक्त गर्ने कुरा संविधानमा उल्लेख हुनुले न्यायपालिकाको गरिमा घटाउँदै लगेकोमा दुःख व्यक्त गरिन् ।

‘कानुनको सर्वोच्च निकायमा रहने व्यक्ति अनेक बहानामा राजनीतिक तवरले नियुक्त हुनु के राम्रो कुरो हो ?’, उनको प्रश्न थियो । अर्का विद्यार्थी पारस अर्यालले महिला न्यायाधीशका संख्या अत्यन्त न्यून हुनुको कारणका बारेमा सोधेका थिए । विद्यार्थी सरु चौधरीले पैसा नहुनेको बारेमा मुद्दा लड्ने कोही हुन्छ या हुँदैन भनेर प्रश्न गरेकी थिइन् ।

विद्यार्थीका अनेकन गुनासाको जवाफ दिँदै न्यायाधीश रमेशराज पोखरेलले उच्च अदालत तुलसीपुरले न्यायिक प्रक्रियालाई सहज बनाउँदै लगेको बताए । उनले पैसा नहुनेहरूका लागि अदालतले वैतनिक वकिलको व्यवस्था गरेको पनि बताए । ‘पैसा नहुनेले पनि हामीलाई जानकारी गरायो भने वैतनिक वकिलमार्फत मुद्दा लड्ने प्रक्रिया अगाडि बढाउँछौँ’, उनले जानकारी दिए ।

मुख्य न्यायाधीश दीक्षितले अदालती प्रक्रियालाई सहज बनाउनका लागि उच्च अदालतले डिजिटल माध्यमलाई जोड दिएको बताइन् । उनले अनलाइनमार्फत् जाहेरी दिन सकिने बताउँदै उच्च अदालतमा आएर काठमाडौंमा तारिख दिन सकिने पनि बताइन् । ‘हामीले जुममार्फत् टाढा जान नसक्नेलाई तारिख लगाउन सक्ने व्यवस्था समेत गरेका छौँ’, दिक्षितको भनाइ थियो ।

Blog Post Ad

सो अवसरमा उच्च अदालतका रजिष्ट्रार यमबहादुर बुढा मगरले नेपालको न्यायिक प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले न्यायिक र अर्धन्यायिक निकायले गर्ने कामका बारेमा पनि बताए । कार्यक्रममा कलेज प्रमुख बसन्त आचार्य, विद्यार्थी देविसरा वलीलगायतले बोलेका थिए भने सञ्चालन उच्च अदालतका सूचना अधिकारी भूपाल भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad