Ad Area

विद्यार्थीले बनाएको खाजा शिक्षक र अभिभावकलाई विक्री


दाङ, १२ चैत । शुक्रवार दिउँसो करिब १ बजेको थियो, कोही विद्यार्थीले प्लेटमा समोसा, कसैले पकौडा, मःम समाइरहेका थिए । अन्य दिनभन्दा फरक दृश्य थियो, लिटल एञ्जल विद्यालयमा ।

विद्यार्थीहरूले बनाएको खाजा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले किनरे खाइरहेका थिए । अन्य दिन क्यान्टिन तथा घरबाट खाजा लिएर खाने बालबालिका आफ्नै दिदी, बहिनी, दाजु, भाइले बनाएको खाजा किनेर खाएका हुन् ।

विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने बालबालिकाले पकौडा, आलु–परौठा, मःम, समोसा, नम्किन बनाएर विक्री गरेका हुन् । उनीहरूले प्रयोगात्मक शिक्षाअन्तर्गत यस प्रकारको क्रियाकलाप आयोजना गरेको बताएका छन् । विद्यार्थीले रकम उठाएर त्यसमा विद्यालयले थप व्यवस्थापन गरिदिएर यस प्रकारको क्रियाकलाप गरेको विद्यार्थीहरू बताउँछन् ।

‘हामीले विद्यालयमा पढेको सीप व्यवहारमा कार्यान्वयन गर्न यस प्रकारको काम गरेका हौँ’, विद्यार्थी शीला कुवरले भनिन् । खाजा बनाउन नयाँ सिकाइ भएको उनको भनाइ रहेको छ । ‘अब सजिलै बनाउन सक्ने भएका छौँ’, कुवरले भनिन् । अब घरमा समेत सजिलै बनाउन सक्ने भएको कुवर बताउँछिन् ।

आफूहरूले पैसा उठाएर सामग्री खरिद गरेर बनाएको उनले बताइन् । आफूहरूले थालेको काममा विद्यालयले समेत सहयोग गरेको उनको भनाइ रहेको छ । ‘आफूले बनाएको सामग्री आफैले विक्री गर्छौँ’, कुवरले भनिन् । यसरी भएको आम्दानी वृद्धाश्रममा पुगेर सहयोग गर्ने योजना रहेको उनले सुनाइन् ।

Blog Post Ad

‘यस प्रकारको क्रियाकलापले हामीलाई नयाँ सिकाइ भएको छ, अब घरमा पनि यस्ता सामग्री तयार गर्न सक्ने भएका छौँ’, विद्यार्थी सागर रोकाले भने । किताबमा सैद्धान्तिक रूपमा सिकेर मात्र नभइ व्यावहारिक रूपमा सिक्न सफल भएको उनको भनाइ छ । परिकार बनाएर मात्र नभइ कसरी विक्री गर्ने भनेर सिक्न पाइएको उनले बताए ।

विद्यार्थीहरूले समूह निर्माण गरेर छुट्टा–छुट्टै सामग्री तयार बनाएको रोकाको भनाइ छ । ‘हामीले बनाएको वस्तु १० रूपैयाँदेखि १ सय रूपैयाँसम्मका छन्’, रोकाले भने । आप्mनो इच्छाअनुसार खरिद गरेर खान सकिने उनले बताए । व्यावहारिक सिकाइप्रति विद्यार्थीहरू उत्साहित रहेको विद्यालयका शिक्षक पूर्ण गिरीले बताए । ‘नयाँ कुरा सिक्न उत्साहित हुने गरेका छन्’, शिक्षक गिरीले भने ।

विद्यार्थीहरूले बनाएका खाजा अन्य विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले किनेर खाने बताए । यसले विद्यार्थीहरूलाई थप हौसला पुग्ने उनको भनाइ छ । विद्यार्थीहरूले गर्न थालेको कार्यमा विद्यालयले सहयोग गरेको बताए ।

Blog Post Ad Blog Post Ad