Ad Area

शुरु भयो, दाङ क्रिकेट लिग


घोराही, १२ चैत्र । बहुप्रतिक्षित खेल क्षेत्रकै गौरवको रुपमा रहेको दाङ क्रिकेट लिग आज एक कार्यक्रम गरी भव्य रुपमा शुरु गरिएको छ । दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरे ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित क्रिकेट मैदानमा आयोजना गरिएको प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासमा घोराही उपमहानगरपालिकाले सकेको जति लगानी र प्रबद्र्धन गरेको बताए । सबै खेल क्षेत्रको विकास गर्न नगर प्रतिबद्ध रहेको बताउँदै प्रतियोगिताका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको जानकारी दिए । आगामी दिनमा क्रिकेट रंगशालामा दर्शक बसेर हेर्न मिल्ने गरी प्याराफिट निर्माणको पहल हु्ने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुलेस्वस्थ जीवनको आधार नै खेल क्षेत्र भएको हुँदा यस प्रकारका प्रतियोगिताले खेलाडी उत्पादनसँगै स्वस्थ नागरिक बनाउन सघाउ पुग्ने बताए । खेल क्षेत्रले देशको शिर उचो बनाउन सफल भएको भन्दै अब खेलाडीहरुलाई व्यवसायिक बनाउन यसरी नै अरु प्रतियोगिताहरु आयोजना गनुपर्नेमा जोड दिए ।

संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा क्यान प्रदेशका उपाध्यक्ष दुर्गाबहादुर थापा, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १७ का अध्यक्ष खुशीराम चौधरी, नेकपा एमालेका सचिवालय सदस्य विबेक श्रेष्ठ, नेपाली कांग्रेसका सचिब बालिका लम्साल, माओबादी केन्द्रका हरिमान पुन, संघका सल्लाहकार शरद अधिकारी, चेम्बर अफ कमर्श प्रदेशका उपाध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, बलिभद्र राना, जानकीलाल बस्नेत लगाएतले भनाई राख्दै प्रतियोगिताको सफलताको शुभकामना दिए । कार्यक्रमको सहजीकरण सदस्य किशोरचन्द्र गौतमले गरेका थिए । १७ गते सम्म चल्ने लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ । प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ ।

यसैबीच, उदघाटन खेलमा घोराही टाईगर्स, देउखुरी वारियर्सबीच प्रतिष्पर्धा भईरहेको छ । टस जितेर पहिले व्याटिङ रोजेको देउखुरी वारियर्सले घोराही टाईगर्सलाई १ सय ४१ रनको टार्गेट दिएको छ । उसले आफ्नो विकेट गुमाउँदै १ सय ४० रन बनाएको हो । घोराहीले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।