Ad Area

परिक्षाले होटेल भरिए


दाङ, १३ चैत । शिक्षा आयोगले स्थायी शिक्षकको लागि चैत १५ देखि १९ गतेसम्म पहिलो प्रश्नपत्रको परीक्षा लिँदै छ । मावि र निमाविको लुम्बिनी प्रदेश स्तरी परीक्षा केन्द्र दाङमा राखेको छ । प्राविको लागि दाङको परीक्षा केन्द्र बाँके तय गरेको छ । दाङमा परीक्षा केन्द्र तय भएपछि परीक्षार्थी दाङ आउने क्रम सुरु भएको छ ।

परीक्षार्थी आउने क्रम सुरु भएसँगै जिल्लाका होटलहरू भरिन थालेका छन् । घोराही, लमही र अन्य क्षेत्रका होटेलहरू भरिएका छन् । अहिले होटेलमा बास बस्नका लागि आफूले खोजेको तथा भनेको जस्तो कोठा नपाउने गरेको गुनासो कोठा खोज्नेहरूले गरेका छन् । ‘होटेलमा कोठाको लागि कुरा गर्दा कोठा खाली छैन भनेर होटेलबाट उत्तर आउँछ’, घोराहीमा कोठा खोज्दै गरेका एक परीक्षार्थीले भने । कोठा खोज्न धेरै समस्या परेको उनले बताए । ‘धेरै होटेलहरू भए पनि कोठा पाउन समस्या भयो’, उनले भने ।

जिल्लामा सुरु भएको क्रिकेट प्रतियोगिता, नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन एवं शिक्षा सेवा आयोगको परीक्षाको कारण होटेलहरू भरिभराउ भएको होटेल सञ्चालकहरू बताउँछन् । घोराहीमा रहेका होटेल मालाइन, सिटी प्लाजा, भिङ्ग्रेली भिलेज, ग्रिन भ्याली, होटेल पौवा, होटेल माउण्ट एभरेष्टलगायतका होटेल सञ्चालकहरूले कोठा भरिएको बताए । आफूहरूसँग भएका कोठाहरू बुक भइसकेपछि अहिले बाध्य भएर कोठा छैन भन्नुपर्ने होटेल सञ्चालकहरूले बताए ।

क्रिकेट खेलका लागि तथा परीक्षा दिनका लागि बाहिरबाट धेरै आएका कारण होटेलहरू भरिभराउ भएका हुन् । बाहिरबाट आउने अतिथिहरू होटेलमा कोठा लिएर बस्ने गरेका छन् । अघि–पछि खाली हुने होटेलहरू खेलकुद तथा शिक्षा आयोगको परीक्षाको कारण होटेलमा चहलपहल बढेको दाङ फन भ्याली प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । अहिले धेरैले होटेलमा कोठा खोज्न आउने गरेको उनले बताए । ‘होटेलमा कोठा बुक गर्न आउने गर्नुभएको छ’, उनले भने, ‘यसले केही मात्रामा भए पनि होटेलमा चहलपहल बढाएको छ ।’

घोराही क्षेत्रमा रहेका होटेलहरूमा करिब २ हजार बढी बास बस्न सक्ने क्षमता रहेको दाङ देउखुरी होटेल व्यवसायी समितिका सचिव श्यामकुमार विकले बताए । अहिले शिक्षा आयोगको परीक्षाको कारण होटेलमा कोठा खोज्नेहरू बढेको उनले बताए । आएका पाहुनाहरूलाई सेवा दिन आफूहरू तयार रहेको उनको भनाइ छ । ‘कोही पनि कोठा नपाएर समस्या हुन नदिन हामी लागिपरेका छौँ’, उनले भने, ‘कसैलाई समस्या भएमा आफूहरूलाई जानकारी गराएमा व्यवस्थापन गरिनेछ ।’

Blog Post Ad Blog Post Ad

Blog Post Ad