Ad Area

दाङ क्रिकेट लिगमा दंगाली लायन्सको पहिलो जीत, तुलसीपुर रोयल्स ७ विकेटले पराजित


घोराही, १४ चैत्र । घोराहीमा भईरहेको दाङ क्रिकेट लिगमा लगातार दुुई खेलमा पराजय व्यहोरेको दंगाली लायन्सले लिगको छैठौँ खेलमा जीत निकाल्न सफल भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा भईरहेको खेलमा दंगाली लायन्सले तुलसीपुुर रोयल्स विरुद्ध आफ्नो कमजोरी सुधार्दै साेमबारकाे खेलमा ७ विकेटको जीत हासिल गर्न सफल भएको हाे । टस जितेर पहिले व्याटिङ गरेको तुलसीपुरले सम्हालिएर खेल्न नसक्दा सस्तैमा समेटियो । तुलसीपुर रोयल्सका लागि कमल ओलीले २२, दीपेन्द्र रावतले २० रन बनाउनुु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् । तुलसीपुरलाई कम स्कोरमा समेट्न दंगाली लायन्सका खेलाडीले उत्कृष्ट बलिङ तथा फिल्डिङ गर्दै जीतको आधार तय गरेका थिए । जसका कारण तुलसीपुर रोयल्स १८ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ७२ रनमै समेटियो । तुलसीपुर रोयल्सलाई कम स्कोरमा रोक्न दंगाली लायन्सका अनिल खरेलले ४ तथा राजबीर सिंहले ३ विकेट लिँदा बिरबहादुरले २ तथा सुमित पराजुलीले १ विकेट लिनुुभयो ।
७३ रनको सामान्य लक्ष्य पछ्याएको दंगाली लायन्सलाई जीत दिलाउन राजबीर सिंहले अविजित ४८ रनको योगदान दिनुुभयो । यस्तै, विक्रम भुसालले १३ रनको योगदान दिएपछि दंगाली लायन्सले ३ विकेटको क्षतिमा सो लक्ष्य १६ दशमलव ४ बलमा पूरा गर्यो ।
तुलसीपुर रोयल्सका बसीर अहमद, दिपक बोहरा र दिपेन्द्रले १–१ विकेट लिनुुभयो ।
जारी लिगमा अब तेश्रो दिन भोलि मंगलबार पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारियर्सबीच बिहान ८ बजेपछि खेल हुनेछ भने दिउँसोको खेलमा तुलसीपुुर रोयल्स र घोराही टाईगर्स आमनेसामने हुँदैछन् ।
तुलसीपुर रोयल्स जारी लिगमा कमजोर टिम देखिएको छ भने घोराही उपाधि दाबेदारका रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ । घोराही टाईगर्स लिगको पहिलो फाइनलिस्ट पनि हो ।

Blog Post Ad Blog Post Ad