Ad Area

परिक्षार्थीलाई बासको समस्या भए सभागृहमा बस्न दाङ उद्योग वाणिज्य संघकाे अपिल


घोराही, १४ चैत्र । शिक्षा आयोगको परिक्षाका कारण दाङका होटेल तथा गेस्ट हाउस आगन्तुकले भरिएर कोठा नपाउने समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले अस्थायी रुपमा बासको व्यवस्थापन गरेको जनाएको छ ।
शिक्षा आयोगले स्थायी शिक्षकको लागि भोलि चैत १५ देखि १९ गतेसम्म पहिलो प्रश्नपत्रको परीक्षा लिन भन्दै दाङमा परीक्षा केन्द्र तोकेपछि अहिले दाङका होटल तथा गेस्ट हाउस भरिभराउ भएका छन् । जसले गर्दा बाहिरबाट आउने आगन्तुकहरुलाई कोठा पाउन मुस्किल भएको छ ।
जिल्ला बाहिरबाट आउने आगन्तुकलाई होटेल तथा गेस्ट हाउसमा कोठा नपाउने समस्या हुन थालेको भन्दै हालै निर्माण गरिएको सभा गृहको दोश्रो तलाका विभिन्न कोठालाई बासको रुपमा प्रयोग दिने निर्णय भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कोठा नपाएर समस्यामा परेका कोही भए संघमा सम्पर्क गरी बासको रुपमा सभा गृहका कोठा प्रयोग गर्न सक्नेछन् । यस्तै, महिलाहरुका लागि उद्योग वाणिज्य संघको कार्यालय रहेको परिसरको हल प्रयोग गर्न दिने भएको छ ।
‘समस्यामा परेका कोही भए दाङ जिल्ला उद्योग वाणिज्य संघमा सम्पर्क गरी बासका रुपमा हामीले सभागृहमा रहेका कोठा प्रयोग गर्न दिने भएका छौँ,’ अध्यक्ष बुढाथोकीले भन्नुुभयो, ‘दाङ आएका पाहुनालाई सकेसम्म बस्न समस्या नहोस् भन्ने हाम्रो ध्येय हो, महिला पुरुष दुवैका लागि अलग अलग बस्ने चाँजोपाँजो मिलाएका छौँ ।’
मावि र निमाविको लुम्बिनी प्रदेश स्तरी परीक्षा केन्द्र दाङमा राखिएको भने प्राविको लागि दाङको परीक्षा केन्द्र बाँके तय गरेको छ । अहिले जिल्लाको घोराही, लमही र अन्य क्षेत्रका होटेलहरू भरिएका छन् ।
अहिले होटेलमा बास बस्नका लागि कोठा नपाउने समस्या आएपछि उद्योग वाणिज्य संघले हालको समस्यालाई ध्यानमा राख्दै बासको व्यवस्थापन गरिदिएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad