Ad Area

दुर्गमको विकासलाई प्राथमिकता दिनुपर्ने


घोराही, १४ चैत । निर्वाचन आउँदै गर्दा बर्तमान नेतृत्वको जनप्रतिनिधिहरुले अन्तिम सार्वजनिक सुनुवाई गरिरहेका छन् । दोस्रो चौमासिकमा गरिएका प्रगति विवरण सार्वजनिक गर्ने र नागरिकका गुनासा सुन्नका लागि घोराही उपमहानगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई आयोजना गरेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नेहरुले उपमहानगरपालिकाका सवै क्षेत्रमा समान खालको विकास नपुगेको भन्दै अव दुर्गम क्षेत्रहरुको विकासमा प्राथमिकता दिनुपर्ने बताएका थिए । घोराहीमा ग्रामिण क्षेत्र रहेको र अवको विकास ग्रामिण क्षेत्रमा केन्द्रित गर्न सहभागिले सुझाव दिएका थिए ।

घोराहीका गाउँक्षेत्रमा सडकको ट्रयाक खोलिएको भएपनि स्तरउन्नती नभएको, सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरियता आउन नसकेको, स्वास्थ्य क्षेत्रमा पनि हुनुपर्ने जति विकास नभएको भन्दै नगरपालिकाले आगामी दिनमा यस्ता कुरामा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा सहभागिहरुले स्थानीय पालिकामा जनप्रतिनिनिधि आएपछि विकास निर्माण र घोराहीलाई व्यवस्थित गर्ने काम भएपनि थप कामका लागि अपेक्षा गरिएको बताएका थिए । बजार क्षेत्रको तुलनामा गाउँ क्षेत्रका समस्यामा मानिसको ध्यान नजाने भन्दै गाउँका समस्यामा ध्यान दिन सहभागिले आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागि नागरिकहरुले सडकको स्तरउन्नती सहित पिच, विजुली वत्तीको व्यवस्था गर्नुपर्ने, कृषिमा दिइने अनुदानलाई व्यवस्थित गर्नुपर्ने, कृषकलाई प्रोत्साहन गर्नका लागि थप कार्यक्रम ल्याउनुपर्ने लक्षित वर्गको कार्यक्रम उनिहरु सम्म पु¥याउनुपर्ने, धुलाम्य सडकको मर्मत सम्भार गर्नुपर्ने, सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने लगाएतका सुझाव राखेका थिए ।

कार्यक्रममा सहभागिवाट उठेका प्रश्नहरु घोराही उपमहानगरपालिकालाई व्यवस्थित गर्नका लागि सहयोग पुग्ने खालका रहेको भन्दै घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्नेद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रमुख इन्जिनियर युवराज पौडेल, सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी लगायतले सुझावलाई सकारात्मक रुपमा लिइएको बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले पाँच वर्षमा योजना संवोधनको प्रयास भएको बताए । सतप्रतिशत कामहरु हुन नसकेपनि योजना अनुसारका कामहरु गर्न सफल भएको बताए । फोहोर व्यवस्थापन, छाडा पशुचौपायाको व्यवस्थापन, सडक मानवको व्यवस्थापन, वालश्रमिक मुक्त नगर घोषणा गर्ने अभियान, दुर्गम क्षेत्रमा सडक सुविधा, खानेपानी, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणको काम भएको बताए ।

Blog Post Ad

उनले खानेपानीको व्यवस्था, सिचाइँ सुविधाका लागि जलाशय निर्माण लगाएतका थुप्रै काम भएको बताए । घोराही तुलसीपुर सडकलाई हेरेर उपमहानगरलाई मुल्यांकन गर्ने काम गरेको भन्दै उनले यो संघिय सरकारको योजना भएकाले आफ्नो कार्यक्षेत्रमा नपर्ने बताए । तर कार्यक्षेत्र भित्र नपर्ने भएपनि पटक पटक सडक मर्मत संभारको काम भएको जानकारी दिए । पाँच वर्षमा सबै कामहरु भनेजस्तै सफल हुन नसकेपनि सफलताको लक्ष्य तिर अगाडी बढेको उनको भनाई थियो ।

कार्यक्रममा सूचना महाशाखा अधिकृत भिम बहादुर चौधरीले दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरेका थिए । भने पत्रकार विमला घर्तीले नागरिक प्रतिवेदन पत्र र नागरिक अभिमत संकलन पत्र प्रस्तुत गरेकी थिइन् । बासुदेव आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन नविन चौधरीले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad