Ad Area

तुलसीपुरको विरेन्द्रचोकमा १६ बर्षपछि पुन : विरेन्द्रकै शालिक


तुलसीपुर, १५ चैत । स्थानिय सरकारको निर्णय र नागरिक सहयोगको संयोजनले तुलसीपुरको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको शालिक राखिएको छ । शालिक राख्ने समयमा स्वतःस्फूर्तरुपमा सयौं तुलसीपुरबासीको उत्साहपूर्ण सहभागिता देखिएको छ ।

सोमवार साँझ चोकमा शालिक राखिदा सयौंले मोबाइलमा सो दृश्यको कैद गरिरहेका देखिन्थे । ‘शालिक भत्काउनु नै गलत थियो, तर अहिले वडा सरकारको पहलमा शालिक राखेर इतिहासकै सम्मान भएको छ’, मोवाइलमा भिडिओ बनाउँदै गरेका एकजना स्थानीयबासीले भने । उनको भनाइले शालिक राख्दा इतिहास ब्युझाउने र नामसहितको चोकले बटुवालाइ समेत सहजरुपमा पहिचान मिल्न सक्ने छ ।

शालिक अनावरणका क्रममा केहीले राजा वीरेन्द्र अमर रहून्, राजा वीरेन्द्र प्रजातन्त्रवादी राजा थिए, राजा वीरेन्द्रमा देशभक्तिको अतुलनीय माया थियोजस्ता अभिव्यक्तिहरु दिइरहेका थिए । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिबीच शालिक अनावरण कार्यक्रममा सहभागी राप्रपा नेता कार्यकर्ताहरुले राजा आऊ देश बचाऊजस्ता नारा समेत लगाएका थिए । उनीहरुले राजा वीरेन्द्रलाई राष्ट्रियता, राष्ट्रिय अखण्डता र हिन्दू राज्यका अभियन्ताका रुपमा पनि चित्रण गरेका थिए ।

‘वीरेन्द्र चोकमा शालिक राख्नका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका–५ ले विधिवत निर्णय गरी कार्यपालिका बैठकबाट समेत यो निर्णयको अनुमोदन यसअघि नै गराएको थियो’, विशुद्धरुपमा नागरिक चाहनालाई सम्बोधन गर्न शालिक अनावरणको अगुवाई गरेका हौं’, शालिक अनावरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहले भने ।

उनले यसमा नागरिकहरुको स्वतःस्फूर्त सहयोग जुटेको र केही दिनमा सबै खर्च विवरण सार्वजनिक गर्ने र शालिकको संरक्षणका साथै थप फिनिसिङमा पनि वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । शालिक निर्माण र अनावरणका लागि हालसम्म करीब २ लाख रुपैयाँ जति अनुमानित खर्च भएको वडाध्यक्ष शाहले बताए । शालिक काठमाडौँमा निर्माण गरिएको थियो ।

शालिकसहितको चोक बनेपछि अन्य स्थानबाट तुलसीपुर आउने जो–कोहीलाई पनि वीरेन्द्र चोकको पहिचान गर्न सहज हुने वडा कार्यालयले जनाएको छ । तत्कालिन बिद्रोही शक्ति माओबादीले २०६२÷०६३ को आन्दोलनको समयमा तुलसीपुरको बीरेन्द्र चोकमा रहेको राजा बीरेन्द्रको शालिक तोडफोड गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले आफ्नो कार्यकाल सकिनै लाग्दा राजा बीरेन्द्रको शालिक स्थापना गरी इतिहासलाई सम्मान गरेको तुलसीपुरबासीहरुले बताएका छन् ।

Blog Post Ad

शालिक अनावरणका सन्दर्भमा कहिँकतैबाट औपचारिकरुपमा विरोधसमेत नआएकाले यो काम नितान्त सौहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै वडाध्यक्ष शाहले सबैलाई धन्यवाद दिएका थिए । यसअघि सो चोकमा राजा वीरेन्द्रको पूर्णकदको शालिक भए पनि हाल सो चोकमा अर्घकदको शालिक राखिएको हो । शालिक नरहे पनि सो चोकको शालिक राख्ने स्थलको संरक्षण वडा कार्यालयले नै गर्दै आएको थियो ।

दाङमा राजा महाराजाका भत्काइएका शालिक पुनःस्थापना गरिएको सम्भवतः यो पहिलो हो । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहकै नेतृत्वमा २०७५ सालमै शालिक रहेको ठाउँको मर्मतको काम भएको थियो । त्यसपूर्व नै वडाध्यक्ष फोडिएको राजा बीरेन्द्रको शालिक पुनः स्थापना गर्ने घोषणा गरिसकेका थिए ।

Blog Post Ad Blog Post Ad