Ad Area

सामुदायिक सचेतनामा जोड


दाङ, १६ चैत । समुदायको आवश्यकता पहिचानसँगै कार्ययोजना बनाएर सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले आगामी कार्ययोजनाका लागि मंगलवार घोराहीमा गरेको सल्लाह, सुझाव संकल्न कार्यक्रमका सहभागीले समुदायमा भइरहेका गलत कार्यहरूको पहिचान गर्दै त्यसलाई न्यूनीकरण गर्न कसरी अघि बढ्ने कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिएका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष आरके शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा नागरिक र प्रहरीको दूरी कम गर्नेसँगै लागूऔषद् दुव्यर्सनी, मिटरव्याज, समाजिक सञ्जालको प्रयोग, ट्राफिक सचेतना, लैङ्गिक हिंसालगायत युवाहरूलाई सामाजिक कार्यमा प्रोत्सहन गर्ने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहँदा समाजमा लागूऔषधका प्रयोगकर्ता बढ्नु चिन्ताको विषय भएकाले लागूऔषधका कार्यक्रमहरूलाई ग्रामीण तहसम्म लग्न आवश्यक रहेकोमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेयले समाजमा घट्ने अधिकांश घट्नाको जड लागूऔषध दुव्र्यसनी भएको भन्दै त्यसका विरूद्ध सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले त्यसका लागि कार्ययोजना बनाएर विद्यालयदेखि समाजसम्म पुग्ने गरी घोराहीका १९ वटै वडामा पुग्ने गरी कार्यक्रम गर्न आग्रह गरे ।

उनले पछिल्लो समय मिटर व्याजको समस्या देखापरेको भन्दै यसलाई निरुत्साहित गर्न सकिएन भने धेरैको घरबार बिग्रिने र कतिपय मानिस सडकमा आउने अवस्था रहेको भन्दै त्यसका लागि समाजमा चेतना फैलाउने गरी कार्यक्रम गर्न सुझाव दिए । उनले मिटर व्याज अधिकांश घटनाहरूमा महिलाहरू संलग्न देखिने गरेको भन्दै यसतर्फ सरोकारवाला गम्भीर बन्नुपर्ने समेत बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको बताए । जरिवानाले मात्र दुर्घटना न्यूनीकरण गर्न नसकिने भन्दै उनले घर, बालविवाह, विद्यालयदेखि नै बालबालिकाहरूलाई ट्राफिकलाई ज्ञान आवश्यक रहेको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । सचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरी सबै तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष तथा सल्लाहकार बलदेव योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, लायन्स क्लब अफ घोराहीका अध्यक्ष ललित श्रेष्ठ, त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष विवेक आचार्यलगायतले समुदायलाई सचेतना गर्ने सवालमा सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका केबी घर्तीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad