Ad Area

तुलसीपुर रोयल्स २४ रनले विजयी, फाईनल पुग्न देउखुरी र दंगालीको खेलमा भर पर्नुपर्ने


घोराही, १६ चैत्र । घोराहीमा जारी दाङ क्रिकेट लिगमा पुरन्धारा च्यालेन्जर्सका मार्की खेलाडी अमरसिंह रौतेलाको अलराउण्डर प्रदर्शनका बाबजुद पनि तुलसीपुर रोयल्ससँग २४ रनको हार व्यहोरेको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा भईरहेको खेलमा आज तुलसीपुर रोयल्सले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा शुरुवाती ब्याटर चल्न नसक्दा तथा बढी बल खाँदा त्यसपछाडिका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि पुरन्धारा च्यालेन्जर्सले ५ विकेटको क्षतिमा १ सय २३ रनमात्रै बनाउन सक्यो ।

पहिलो बलमै डकआउट हुँदै राजु रिजाल पेभेलियन फर्केपछि दवावमा परेको पुरन्धारा च्यालेन्जर्सले रन बनाउन संघर्ष गर्नु परेको थियो । मध्यक्रमका आएका अमरसिंह रौतेलाले अभिजित रहँदै ३८ बलमा ४ छक्का, ३ चौकाको मद्दतमा ६२ रन बनाए पनि जीत सम्भव भएन । यस्तै, कप्तान मोहन खत्रीले ११, विक्रान्त डाँगीले १६, अजय सहानी र तुलबहादुर थापाले समान ११–११ रन बनाए ।

पुरन्धारालाई लक्ष्यमा पुग्न नदिन तुलसीपुर रोयल्सका बसिर अहमद र दीपेन्द्र रावतले २–२ विकेट लिए । यस्तै, दीपक बोहराले ४ ओभरमा एक मेडन राख्दै जम्मा ९ रन दिएर १ विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई नतिजा सुम्पिन बाध्य भएको हो । यसअघि टस जितेर फिल्डिङ रोजेको पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई व्याटिङको निम्तो दिएको थियो ।

तुलसीपुर रोयल्सको पनि शुरुवाती ब्याटर दीपक बोहरा पहिलो बलमै डकआउट भएर बाहिरिएपछि दवावमा परेको टीमलाई त्यसपछिका खेलाडीले स्टा«इक रोटेट गर्दै उकासेका थिए । तुलसीपुर रोयल्सका तर्फबाट समीरप्रसाद शर्माले अर्धशतकीय इनिङ्ग्स खेल्दै ५४ रन बनाएपछि टीम सहज अवस्थामा पुगेको हो । यस्तै, दीपेन्द्र रावतले ४२, विपिन रावलले २३ तथान कमल वलीले १३ रनको योगदान दिएपछि पुरन्धारा च्यालेन्जर्सले ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।

Blog Post Ad

पुरन्धारा च्यालेन्जर्सका तर्फबाट बलिङमा उत्रिएका अलराउण्डर अमरसिंह रौतेला, अजय सहानी र मोहन खत्रीले समान २–२ विकेट लिए भने राजेन्द्र वलीले १ विकेट लिए । ४८ बलमा ७ चौकासहित ५४ रन बनाउँदै जीतको आधार तय गर्नुभएका तुलसीपुर रोयल्सका खेलाडी म्यान अफ द म्याच भए । योसँगै दुई खेलमा हार र दुई खेलमा जीत निकालेको तुलसीपुर रोयल्सको फाईनल पुग्ने सम्भावना जिवितै रहेको छ ।

उता, पुरन्धारा च्यालेन्जर्स भने फाईनल पुग्नबाट वन्चित भएको छ । यद्यपि, तुलसीपुर रोयल्सका लागि अब दिउँसो हुने खेलको नतिजा कुर्नु पर्नेहुन्छ । दिउँसोका खेलमा दुई खेल जिति सकेको देउखुरी वारियर्स र दंगाली लायन्सबीच खेल हुँदैछ ।

यी दुई टीमबीचको खेलमा देउखुरी वारियर्सले जीत निकालेमा सहजै फाइनलमा पुग्ने छ भने दंलागी लायन्सले जीत निकालेमा नेट रनरेटका आधारमा अंक तालिकाको दोश्रो स्थामा पुग्ने टीम फार्यनलमा खेल्नेछ । अब दिउँसो हुन लागेको खेलमा देउखुरी वारियर्सलाई केवल जीत भए पुग्छ भने दंगाली लायन्सलाई जीतसँगै नेट रनरेटमा पनि सुधार गर्न जरुरी छ । यसअघि ४ खेलमा ३ मा जीत र १ मा हार व्यहोर्दै घोराही टाईगर्स भने फाईनलमा प्रवेश गरिसकेको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए ।

दुवै टीमलाई आजको खेल निकै महत्वपूर्ण भएकाले कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको हो । देउखुरी वारियर्स युवा स्टारले भरिएको टीम हो । उक्त टीममा मार्की खेलाडीका रुपमा नारायण जोशी, व्याटिङ लयमा रहेका अलराउण्डर विशाल विक्रम केसी, आशिष वली, सन्देश पाण्डे, अमित तामाङ लगायत रहेका छन् भने बलरहरु पनि अनुभवी रहेका छन् । दंगाली लायन्समा पनि अनुभवी र प्रतिवान खेलाडी रहेकाले पछिल्लो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ ।

पाँच वटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको हो । लिगको फाईनल खेल भोलि हुनेछ ।

Blog Post Ad Blog Post Ad