Ad Area

दाङ क्रिकेट लिगको फाइनलमा घोराही टाईगर्स र देउखुरी वारियर्स


घोराही, १६ चैत्र । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स र देउखुरी वारियर्स फाईनल भिड्ने भएका छन् । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा आज भएको दशौैँ खेलमा देउखुरी वारियर्सले दंगाली लायन्समाथि रोमान्चक ५ रनको जीत निकाल्दै फाईनलमा पुुगेको हो । यसअघि घोराही टाईगर्सले ४ खेलमध्ये ३ मा जीत र १ मा हारसहित स्पष्ट ६ अंकका साथ फाईनलमा प्रवेश गरेको थियो ।

आज भएको खेलमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको दंगाली लायन्स सम्हालिएर खेल्न नसक्दा सस्तैमा समेटिँदै देउखुरी वारियर्ससँग पराजित हुन पुुग्यो । दंगाली लायन्सले १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । बुधबारको खेलमा दंगाली लायन्सले जीत निकाल्दै फाईनल खेल्ने उच्च सम्भावना रहेपनि सम्हालिएर खेल्न नसक्दा नतिजा देउखुरी वारियर्सलार्ई सुुम्पेको हो ।
जारी लिगमा सबैभन्दा कम रनको लक्ष्य पाएपनि शुरुवातबाटै दवावमा परेको दंगाली लायन्स खुलेर खेल्न सकेन ।

दंगाली लायन्सका लागि तृतराजले २० तथा राजबीर सिंहले १८ रन बनाउनुबाहेक अरु खेलाडी क्रिजमा सम्हालिन नसक्दा लगातार पेभेलियन फर्किए । मनोज पुन ११, नविन आचार्य ९, बीरबहादुर घर्ती ८ रन बनाएर आउट हुँदा शंकर बुढा ७ तथा सुमन दसौदी ५ रनमै पेभेलियन फर्किनुपर्यो । कम स्कोर बनाएर पनि जीत निकाल्न सफल भएको देउखुरी वारियर्सका तर्फबाट विशाल विक्रम केसी र आशिष वलीले समान ३–३ विकेट लिँदा प्रतिष जिसी र करण घर्तीले १–१ विकेट लिए ।

आशिष ओलीले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदै केवल ७ रन खर्चिए । किफायती बलिङ गरेका देउखुरीका विशाल विक्रम केसीले पनि ४ ओभरमा केवल ३ विकेट लिँदै १३ रनमात्रै दिए ।
यसअघि टस हारेर पहिले व्याटिङमा आएको देउखुरी वारियर्सले शुरुवात राम्रो गरेपनि लगातार विकेट गुमाएपछि १७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ९२ रनमै समेटिएको थियो । ओपनर प्रज्वल थापा र प्रतिष जिसीले राम्रो शुरुवात गरेका थिए । प्रज्वल थापा ३४, प्रतिष जिसी १३, विशाल विक्रम केसी १२ रन बनाएर आउट भएपछि पुरै धर्मराएको देउखुरी वारियर्सको टीम लयमा फर्किन सकेन । जसका कारण लगातार विकेट गुमाउँदै १७ दशमलब २ बलमा ९२ रनमै अलआउट भयो ।

देउखुरीलाई कम स्कोरमा समेट्न दंगाली लायन्सका तर्फबाट अनिल खरेल र विक्रम भुसालले समान ४–४ विकेट लिँदा राजबीर सिंहले १ विकेट लिए । दंगाली लायन्सका ३ जना खेलाडीले मेडन ओभर समेत गर्न सफल भए । अब उदघाटन खेलमा आमनेसामने भएका घोराही र देउखुरी फाईनलमा पुुगेपछि खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।यसअघि बिहान भएको नवौँ खेलमा पुरन्धारा च्यालेन्जर्सका मार्की खेलाडी अमरसिंह रौतेलाको अलराउण्डर प्रदर्शनका बाबजुद पनि तुलसीपुर रोयल्ससँग २४ रनले हार व्यहोरेको छ । तुलसीपुर रोयल्सले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा पुरन्धारा च्यालेन्जर्सले ५ विकेटको क्षतिमा १ सय २३ रनमात्रै बनाउन सक्यो । मध्यक्रमका आउनुभएका अमरसिंह रौतेलाले ६२ रन बनाए पनि जीत सम्भव भएन । यस्तै, कप्तान मोहन खत्रीले ११, विक्रान्त डाँगीले १६, अजय सहानी र तुलबहादुर थापाले समान ११–११ रन बनाए ।

पुरन्धारालाई लक्ष्यमा पुग्न नदिन तुलसीपुर रोयल्सका बसिर अहमद र दीपेन्द्र रावतले २–२ विकेट लिए । यस्तै, दीपक बोहराले ४ ओभरमा एक मेडन राख्दै जम्मा ९ रन दिएर १ विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई नतिजा सुम्पिन बाध्य भएको हो ।

Blog Post Ad

टस जितेर फिल्डिङ रोजेको पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई व्याटिङको निम्तो दिएको थियो । तुलसीपुर रोयल्सका तर्फबाट समीरप्रसाद शर्माले ५४ रन बनाएपछि टीम सहज अवस्थामा पुगेको हो । यस्तै, दीपेन्द्र रावतले ४२, विपिन रावलले २३ तथान कमल वलीले १३ रनको योगदान दिए । पुरन्धारा च्यालेन्जर्सका तर्फबाट अमरसिंह रौतेला, अजय सहानी र मोहन खत्रीले समान २–२ विकेट लिए भने राजेन्द्र वलीले १ विकेट लिए । लिग चरणको खेलमा तुलसीपुर रोयल्सले फाईनल पुुग्ने सम्भावना बनाए पनि देउखुरी वारियर्सले जितेसँगै बाहिरिएको छ ।

देउखुरीलाई हारको बदला लिने अवसर

उदघाटन खेलमा ३ विकेटको  हार व्यहोरेको देउखुरीले फाईनलमा घोराहीसँग बदला लिँदै उपाधि उचाल्ने दाउमा रहेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको घोराही उच्च मनोबलका साथ मैदानमा उत्रिँदै उपाधि उचाल्ने योजनामा रहेको छ । दुवै टीममा अनुुभवी र युवा स्टार खेलाडी रहेकाले भाेलि बिहीबारको फाईनल खेललाई निकै चासोका साथ हेरिएको छ । अब  भाेलि बिहीबार दिउँसो १ बजे घोराही टाईगर्स र संघर्षपूर्ण जित निकालेको देउखुरी वारियर्सले उपाधिका लागि भिड्ने भएका लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए । जारी लिगमा ५ वटा फ्रेन्चाइज क्लब स्थापना गरेर अक्सनमार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको हो । चैत्र १२ गतेबाट भईरहेको लिगमा दैनिक २ वटा खेल आयोजना गरिएको हो ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सले भाग लिएका छन् । प्रथम हुने टीमले २ लाख र दोस्रो हुनेले एक लाख नगद पुरस्कारसहित ट्रफी उचाल्ने छ ।

Blog Post Ad Blog Post Ad