राप्ती प्रतिष्ठानमा बैशाख १ गतेबाट आमा सुरक्षा कार्यक्रम नि:शुल्क

दाङ, १७ चैत्र । नागरिक समाज दाङले नवनियुक्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछाने, रजिस्ट्रार प्रकाश थापालाई बधाई तथा शुभकामना दिदै स्वागत सम्मान गरेको छ । समाजका पदाधिकारी तथा सदस्यहरुले सामुहिकरुपमा प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा पुगेर उनीहरुलाई स्वागत तथा सम्मान गरेक ा हुन् । समाजका संयोजक केबी मसाल, सचिव नारायण प्रसाद श्रेष्ठ, निवर्तमान संयोजक चन्द्रराज पन्त, निवर्तमान सचिव लक्ष्मी आचार्य, सदस्यहरु सुशील गौतम, हरिप्रसाद पाण्डेय, श्रीमन न्यौपाने लगायतले सफल कार्यकालको शुभकामना दिए । त्यस अवसरमा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीसंग समाजका पदाधिकारी तथा सदस्यहरुले छलफल गरेका थिए । छलफलमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफु दङ्गालि भएकाले यो स्वास्थ्य संस्थाको प्रमुख भन्दा पनि उपभोक्ताको रुपमा आफु रहेको भन्दै त्यो अनुसारको प्रतिष्ठानको सेवा सुबिधा बिस्तारसंगै अस्पतालको स्तरोन्नती गर्न आफुले पहल गर्ने बताए । विगतको कुरालाई बिर्सिदै अस्पताललाई राम्रो बनाउन नागरिक समाजको निरन्तर खबरदारी आवश्यक रहेको र खबरदारीबाट नै संस्थालाई अघि बढाउन सकिने तर्क उनले गरे । प्रतिष्ठानको जग्गा प्राप्तिको प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले जग्गा आउनासाथ पु पूर्वाधारकाे काम अघि बढ्ने जानकारी दिए । उपकुलपति लामिछाने आउने बैशाख १ गतेबाट प्रसुति विशेषज्ञ थपेर २४ सै घण्टा सुरक्षित मातृत्व कार्यक्रम सन्चालन हुने भन्दै छुट्टै भवनमा पोषण पुनस्थापना गृहलाई प्रभावकारीरुपमा व्यवस्थित तरिकाले सन्चालन गर्न बाल रोग विशेषज्ञ र पोषण अधिकृत खटाउनुका साथै कुपोषित बालबालिकालाई भर्ना गरेर उपचार गर्न सुरु गरिएको बताए । उनले आउने शैक्षिक शत्रदेखि प्रतिष्ठानमा बिएस्सी नर्सिङ, बिएनएस, बि फर्माको पढाई सुरु गर्न ल्याब, लेक्चर हल तयारी अवस्थामा राखिएको र चिकित्सा शिक्षा आयोगबाट कार्यक्रमसंगै सिट संख्या निर्धारण भएमा आउने जेठको दोस्रोसातादेखि प्रतिष्ठानमा पढाई सुरु हुने बताए । आफ्नो चार वर्षे कार्यकालमा भौतिक पूर्वाधार बढाएर एमबिबिएसको पढाई सुरु गर्ने उनले प्रतिबद्धता जनाउदै एमबिबिएस चलाउन ४ सय बेडको अस्पताल चाहिने भएकाले बैशाख भित्र शिलन्यास गरिने जानकारी दिदै निर्माण कार्य अन्तिम चरणमा पुगेर चैत सम्म नयाँ भवन हस्तान्तरण गरेमा प्रसुतिसहित इमरजेन्सीको सेवा बिस्तार गरिने बताए । उनले छिट्टै एमडिको पढाई सुरु हुने बताए । त्यस्तै प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले अस्पतालमा मेडिकल अफिसर बाहेक २७ जना कन्सल्टेण्ट डाक्टर रहेको भन्दै अस्पतालको अहिलेको सेवा बिस्तार अत्यन्तै प्रभावकारी भइरहेको बताए । उनले केही समयपछि जग्गा प्राप्तिको प्रकृया टुङ्गिने बताउदै गृहमन्त्रालयबाट प्रकृया पुर्याइ स्वास्थ्य मन्त्रालयमा फाइल पुगेमा क्याबिनेटबाट निर्णय हुने उल्लेख गरे । उनले पुराना कुरामा अल्झिन नहुने र नयाँ योजनाका साथ अघि बढ्नु पर्ने विचार व्यक्त गर्दै बैशाख भित्र नयाँ भवन उद्घाटन गरेर ४ सय बेडको नयाँ हस्पिटलको शिलन्यास गर्ने योजना रहेको सुनाए । साथै उनले नागरिक समाजसंग मिलेर काम गर्न तयार रहेकाले सहयोग गर्न आग्रह गरे। सो अवसरमा नागरिक समाज दाङका संयोजक केबी मसालले विगतदेखि प्रतिष्ठानको विकास र बिस्तारमा नागरिक समाजले सहयोग गरिरहेको र आउने दिनमा पनि थप सहकार्य गरेर जान तयार रहेको बताए। उनले बिरामीहरु टाढा-टाढाबाट आउने भएकाले अतिरिक्त सेवा बिस्तारको सेवाको समय ३ बजेपछि मात्र गर्न प्रतिष्ठानको नेतृत्वलाई सुझाव दिए । अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले प्रतिष्ठानको सेवा विस्तारमा नेतृत्वसंग सहकार्य गरेर अघि बढिरहेको धारणा राखिन्।