Ad Area

गोरखा माविलाई अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड


दाङ,२९चैत्र । दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङले अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको छ । जापान आर्ट माइलको आयोजनामा भएको शैक्षिक क्रियाकलाप सम्बन्धि कार्यक्रममा सहभागी भएर गोरखाले अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको हो ।

विश्वका २२ वटा देशका ९६ वटा विद्यालयलाई पछाडि पार्दै गोरखा माविले अवार्डका हात पारेको हो । जापानको शिक्षा मन्त्रालय अन्तर्गत जापान आर्ट माइलले सिकाइलाई चित्रकलाका माध्यमबाट अध्ययन अध्यापन गराउने र हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ । जापानको शिक्षा मन्त्रालयले देश विदेशका विद्यालयहरुमा पाठ्यक्रममा रहेका विषयमा चित्रकलाका माध्यमबाट अध्ययन अध्ययापनका क्रियाकलाप सञ्चालन गरी उत्कृष्ट विद्यालयहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।

जापान आर्ट माइलले सन् २००७ देखि औपचारिक रुपमा काम गर्दै आएको छ । नेपाललाई पनि सन् २०१८ देखि जापान आर्ट माइलले सहभागी गराउन थालेको हो । सन् २०१९ मा भक्तपुरस्थित माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुल नेपालका तर्फबाट पहिलो पटक सहभागी भएको थियो । गोरखा मावि नेपालको दोस्रो सहभागी विद्यालय र नेपालमा यो अवार्ड प्राप्त गर्ने पहिलो विद्यालयको सूचिमा पर्दछ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई प्रविधिका माध्यमबाट समूहमा काम गराइन्छ । ाठ्यक्रममा रहेका विषय वस्तुलाई चित्रकलाका माध्यमबाट अध्ययन गराइने गरिन्छ । सन् २०२१ को लागि गोरखा माविले दिएको आवेदनका कार्यक्रमका लागि छनौट भएको थियो । जापानस्थित सानो जुनियर हाइस्कुलसँग गोरखा माविले सहकार्य गरेको गरेको थियो । पाटर्नर स्कुल सानो जुनियर हाइस्कुलले स्पेसल अवार्ड प्राप्त गरेको हो भने गोरखा माविले अन्तर्राष्ट्रिय सहकार्य शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको हो ।

सम्मान तथा पुरस्कार वितरण

गोरखा माविले एक कार्यक्रमको आयोजना गरी आज मंगलबार अन्तर्राष्ट्रिय सहकार्य शैक्षिक अवार्ड २०२१ मा सहभागी विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

Blog Post Ad

कार्यक्रमका प्रमुख अतिथि डाँगीले आजका विद्यार्थीहरुले नै राष्ट्रको अभिभारा पूरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यार्थीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्नुपर्ने आजको आवश्यकता हो । तपाईं साना बालबालिकाले यो अभिभाराको जिम्मेवारी वहन सुरु गरिसक्नुभएको छ,’ उनले थपे,‘तपाईंहरुले अन्तराष्ट्रिय शैक्षिक गतिविधिमा सहभागी भएर प्राप्त गरेको अवार्ड आफैमा गरिमामय छ । नेपालमै यो अवार्ड प्राप्त गर्ने तपाईंहरु पहिलो हुनुहन्छ, यसले तपाईंहरुमाथि थुप्रै जिम्मेवारी थपेको छ । आउँदा दिनमा यो सफलता र गरिमालाई निरन्तरता दिनुहोस् ।’

कार्यक्रमका अतिथि तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत शेरबहादुर विष्टले विद्यार्थीले गरेको कार्य र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेको कलाको उच्च प्रशंसा गर्दै आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले विद्यार्थीलाई सम्बोधन गर्दै भने, ‘जापानको शिक्षा मन्त्रालय अन्तर्गतको कार्यक्रममा सहभागी भएर अर्वाड जितेर शिक्षा र कलाको क्षेत्रमा देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हुनुभएको बधाई छ,’ उनले थपे, ‘ देशको शीर उँचो राख्नुभयो, यस्तो सुकार्य निरन्तर गरिहनुहोस्, शुचेच्छा छ ।’

जापान आर्ट माइलका बारेमा कार्यक्रम कोर्डिनेटर थमन बस्नेत जानकारी गराएका थिए । आर्ट शिक्षक सन्तोष नेपाली र विद्यार्थीहरु आयुष देवकोटा र क्रिसमस पाइजा मगरले अनुभव सुनाएका थिए । अवार्डमा गोरखा माविका कक्षा ५ देखि ८ सम्म अध्ययरत ४० जना विद्यार्थी सहभागी थिए । आर्ट शिक्षक सन्तोष नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जापान आर्ट माइलका कार्यक्रमका कोर्डिनेटर थमन बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad