Ad Area

विकट बस्तीमा स्वास्थ्य शिविर,सेवा पाउँदा स्थानीय खुशी


दाङ,२ बैशाख । घोराही उपमहानगरपालिका–५ को विकट बस्ती मन्नामेमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा एक सय बढी नागरिकले विभिन्न सेवा लिएका छन् । वडा नं. ५ को कार्यालय र धर्ना स्वास्थ्यचौकीको सयुक्त आयोजनामा शुक्रवार वडा नं. ५ को मन्नामेमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय बढी नागरिकले सेवा लिएका हुन ।

शिविरमा स्थानीयको स्वास्थ्य परिक्षण, निशुल्क औषधीसँगै स्वास्थ्य परामर्श दिइएको थियो । शिविरका अवसरमा बालबालिकालाई टाइफाइट विरुद्धको खोप,स्थानीयलाई हात्तिपाइले विरुद्धको औषधी खुवाउनका साथै स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ७५लाई टाइफाइट विरुद्धको खोप, ८८ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउनका साथै स्थानीय २५ जनाको स्वास्थ्य परिक्षण गरिएको धर्ना स्वास्थ्य चौकीका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक नारायण न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार शिविरमा १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइट विरुद्धको खोप दिइएको छ । उनले शिविरमा स्थानीयको स्वास्थ्य परिक्षणसँगै समस्या देखिएकालाई औषधी उपलव्ध गराएको बताए । त्यसैगरी जटिल खालका समस्या देखिएका विरामीलाई विशेषज्ञसहित अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउन सुझाव दिइएको थियो ।

वडा अध्यक्ष बिष्णुमणि दाहालले भौगोलिक रुपमा विकट रहेका रज्ये र मन्नामेका स्थानीयलाई घरआगनमै आधारभूत स्वास्थ्य सेवा दिनेका लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । शिविरमा स्थानीयको स्वास्थ्य परिक्षणसँगै बालबालिकाहरुलाई टाईफाइट विरुद्धको खोप लगाइएको बताए ।

‘रज्ये र मन्नामे गाउँ वडाका विकट बस्तीका रुपमा रहेका छन्’,वडा अध्यक्ष दाहालले भने,‘विकट बस्तीका स्थानीयलाई घरआगानमा निशुल्क स्वास्थ्य सेवा पु¥याउन शिविरले सहयोग गरेको छ ।’ वडा अध्यक्ष दाहालले रज्ये र मन्नामेमा स्वास्थ्य सेवासँगै अन्य भौतिक विकासका कार्यक्रमहरु समेत भैरहेको बताए ।

Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य तुलसीकुमारी खड्का, सरस्वती टोल विकास सस्थाका अध्यक्ष कृष्णबहादुर भण्डारी, अस्थायी प्रहरी चौकी दलजीतपुरका प्रमुख टेकबहादुर रावललगायतले मन्तव्य व्यक्त गरेका थिए । स्वास्थ्य शिविरमा धर्ना स्वास्थ्यचौकीका प्रमुख नारायण न्यौपानेको नेतृत्वको टोलीले स्वास्थ्य सेवा दिएको थियो ।

स्वास्थ्य शिविरमा ज्वरो, टाउको दुख्ने, रुघाखोकी, पेट दुख्ने, दम, प्रेसरलगायतका बिरामीहरुले सेवा लिएका थिए । गाउँघरमै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुशी भएका थिए । घोराही उपमहानगरपालिका वडा नं. ५ ले यसअघि वडाकै अर्काे विकटबस्ती बसेरखोलामा पनि स्वास्थ्य शिविर गरेको थियो ।

Blog Post Ad Blog Post Ad