Ad Area

स्थानीय तह निर्वाचनको संघारमा माओवादी केन्द्रका जिल्ला इन्चार्जको राजीनामा, कस्तो पर्ला असर ?


दाङ,५ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले १३ बर्षपछि पार्टी पार्टी परित्याग गरेका छन् । १३ बर्षअघि २०६५ सालमा नेकपा माओवादी पार्टी र नेकपा एकता केन्द्र (मसाल) एकीकरण भएपछि गौतम माओवादीको केन्द्रीय सदस्य बनेका थिए ।

दाङमा विकासप्रेमी, बौद्धिक र स्पष्ट बिचार राख्ने नेताका रुपमा परिचित गौतम राजनीतिक रुपमा केन्द्रीय तहमा पहुँच भएका नेताका रुपमा चिनिन्थे । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित गौतम यसपटक गठबन्धनकातर्फबाट बलिया उम्मेदवारका रुपमा आउने विश्वास गरिएको थियो । जिल्लाको राजनीतिकवृतमा पनि त्यही अनुसारको चर्चा थियो ।

तर घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीले पनि दावी गरिरहेकाले कतै कांग्रेसले तँ हात पार्दैन भन्ने आशंका थियो । यही आशंकाविच गठबन्धनमा सामेल पाँच दलका शिर्ष नेतृत्व स्थानीय तहमा उम्मेदवार छनोटको कसरतमा छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने समय नजिकिदै गर्दा घोराही उपमहानगरपालिकामा माओवादी पार्टीका तर्फबाट नगर प्रमुखको दावेदारका रुपमा रहेका जीवन गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनको पार्टी परित्यागले माओवादीलाई घोराहीमा असर पुग्ने देखिन्छ ।

उनले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको मेयरको दाबेदारका रुपमा रहेका गौतमले पार्टीले बाटो विराएर गलत बाटोमा अघि बढेकाले आफुले पार्टी परित्याग गरेर स्वतन्त्र जीवत विताउन चाहेको बताए ।

जनताको परिवर्तनका लागि जनयुद्ध गरेर पार्टी आएपनि नेकपा माओवादी केन्द्रमा पछिलो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएको आरोप लगाए । उनले निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएको र इमान्दार नेता तथा कार्यकार्यहरुमा वितृष्णा बढ्दै गएपछि आफुले बाध्य भएर पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताएका थिए ।

‘नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी होइन । पार्टी दक्षिणपन्थी पथमा गैसक्यो । पार्टीमा गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गयो’,पत्रकार सम्मेलनमा गौतमले भने,‘ जसले गर्दा पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताको भविष्य छैन । पार्टी गुटवाद, अवसरवाद र जालझेल फस्दै गयो र मैले स्वाभिमान गुमाउन चाहेन ।’ उनले माओवादी पार्टीले कम्युनिष्ट आदर्श गुमाइसकेको भन्दै गौतमले एमसीसी पासपछि जनविश्वास समेत गुमाएको आरोप लगाए ।

Blog Post Ad

पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका गौतमले माओवादी केन्द्रबाट राजीनामा दिएपनि स्थानीय तह निर्वाचनअघि आफु कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताए । तर उनले आफु राजनीति गर्ने व्यक्ति भएकाले स्वतन्त्र भने नबस्ने बताए । ‘म राजनीति गर्ने मान्छे हुँ । सधै स्वतन्त्र बस्न सक्दैन । कुनै न कुनै पार्टीसँग जोडिनै पर्छ’,उनले भने,‘तर निर्वाचनअघि कुनै पार्टीमा प्रवेश गर्ने सोचेको छैन् । उम्मेदवार र उसले अघि सारेका विचार मन परे प्रचारमा सहयोग गर्न सक्छु ।’ उनले कठिन समयमा राजनीतिमा प्रवेश गरेर पार्टीले दिएका जिम्मेवारी इमान्दारिताका साथ पुरा गरेको भन्दै अहिले पार्टीले मेयरमा टिकट दिएन भनेर राजीनामा नदिएको तर्क थियो ।

‘मैले २÷४ दिनपछि राजीनामा दिएको भए मेयरको टिकट नपाएर राजीनामा दिएको भन्ने आरोप आउथ्यो । त्यो आरोप म चाहन्न । त्यसैले मैले टिकटको टुंगो लाग्नुभन्दा पहिले नै राजीनामा दिने निर्णय गरेको छु’,उनले भने,‘यसबाट नेकपा माओवादी केन्द्रका इमान्दार नेता तथा कार्यकर्ताहरुमा पर्न गएको असरप्रति क्षमाप्रर्थी छु ।’ घोराही उपमहानगरपालिकाको नगर प्रमुखको टिकटका लागि आफु मुख्य हकदार रहेपनि टिकटकै लागि पार्टीका नेताहरुको चाकरी गर्न आफ्नो स्वाभिमानले नदिएको बताए ।

नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएकाले इमान्दार नेता तथा कार्यकर्ताहरु पार्टीभित्र काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका गौतमले १२ हजार बढी मत प्राप्त गरेका थिए । उनले पत्रकार सम्मेलनमा गएको स्थानीय तहमा मेयरमा आफु पराजित भएपनि निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार घोराहीमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासका लागि आफुले काम गरेको बताए ।

गठबन्धनबाट घोराही उपमहानगरपालिकाको मेयरमा नेकमा माओवादी केन्द्रका नेता हेमराज शर्माको नाम अगाडि सारेपछि गौतम असन्तुष्ट भएका थिए । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा पार्टीको हार निश्चित हुँदाहुँदै पनि आफु पार्टीका लागि निर्वाचन लडेको भन्दै अहिले गठबन्धन बलियो हुँदा अन्य साथीहरु मेयरमा अघि सरेको बताएका थिए । यसअघि दाङमा माओवादी केन्द्रका घोराही नगर अध्यक्ष प्रमोद शर्माले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

Blog Post Ad Blog Post Ad