Ad Area

स्थानीय तह निर्वाचन : पहिलो दिन २३७ जनाको उम्मेदवारी, आज प्रमुख दलहरुले दर्ता गर्दै


दाङ, १२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका १० स्थानीय तहमा उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्लाका पालिकाहरुमा दलहरुले झाँकी, जुलससहित उम्मेदवार दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो दिनमा जिल्लाका दश पालिकामा राजनीतिक दल र स्वतन्त्र गरेर २ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा ७, उममेयरमा ४ र वडा अध्यक्षमा २९ सहित ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा ३, उपप्रमुखमा ३, वडा अध्यक्ष १२ सहित ३५ जनाले उम्मेदवारी दर्ता गरका छन् ।

दंगीशरण गाउँपालिमा अध्यक्षमा २, उपाध्यक्षमा १, वडा अध्यक्षमा ५ सहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बबई गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्ष १, वडाध्यक्ष ६ सहित १५ जना, राजपुर गाउँपालिमा अध्यक्ष १, उपाध्यक्ष १, वडा अध्यक्ष ५ सहित २४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा १ र वडा अध्यक्षमा ३ सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरेर लमही नगरपालिकामा मेयरमा १, उपमेयरमा १ र वडाध्यक्षमा १ सहित ३ जना र शान्तिनगर गाउँपालिकामा वडा अध्यक्षमा ३ र सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार पहिलो दिन बंगलाचुली गाउँपालिकामा कुनै पनि दल र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । गढवा गाउँपालिकामा अध्यक्षमा १, उपाध्यक्ष १, वडाध्यक्षमा ८ सहित ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाका अधिकांश पालिकामा पहिलो साना दलले उम्मेदवारी दर्ता गरे पनि गढवा गाउँपालिमा भने नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । एमालेले पालिका अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै पालिकाका ८ वटै वडामा पनि एमालेले अध्यक्षसहित सदस्यहरुमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरेर घोराहीमा नेकपा मालेका नेत्रप्रसाद पाण्डेले मेयरमा पहिलो उम्मेदवारी दर्ता गराएका छन् । महिलातर्फ मंगोल नेशनल अर्गनाइजेशनबाट कल्पना चौधरीले मेयरमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । जिल्लामा मेयरमा उम्मेदवारी दर्ता गर्ने चौधरी पहिलो महिलासमेत हुन् । त्यसैगरेर श्रीमण शर्मा न्यौपानेले स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । विवेकशील साझाबाट सूर्यप्रसाद पौडेल र अन्य पार्टीमा घोराहीमा मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

Blog Post Ad

जिल्लाका अन्य पालिकामा पनि पहिलो दिन साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । ठूला दल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलहरुले सोमवार उम्मेदवारी दर्ताको तयारी गरेका छन् । यो समाचार तयार पार्दासम्म सबैभन्दा ठूलो दल नेकपा एमालेले मात्र दशैपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको टुंगो लगाएको छ । सत्ता गठबन्धन घोराही, तुलसीपुर उपमहानगरपालिकामा मात्र उम्मेदवार टुंग्याएको छ भने अन्य पालिकाका उम्मेदवार टुंगो लगाउन संवादमै छ ।

गठबन्धनका एक नेताका अनुसार सोमवार रातिसम्म उम्मेदवार टुंगो लगाउने तयारी छ । गठबन्धनमा बाँडफाँडका क्रममा घोराहीको प्रमुख नेकपा माओवादी र तुलसीपुरको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । घोराहीको मेयरमा माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज हेमराज शर्मा पोख्रेल र उपप्रमुखमा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीलाई गठबन्धनले उम्मेदवार बनाएको छ ।

डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए । एमालेबाट घोराहीको मेयरमा बर्तमान मेयर नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीलाई उम्मेदवार बनाएको छ । चौधरी एमाले पोलिटव्युरो सदस्य तथा दाङ इन्चार्ज र डिसी एमाले प्रदेश कमिटी सदस्य तथा अनेमसंघ दाङका अध्यक्ष हुन् । गठबन्धनले तुलसीपुरको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई टिकट दिएको छ ।

दुई कार्यकाल नेपाली कांग्रेस दाङको जिल्ला सभापति भैसकेका नेता गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका घनश्याम पाण्डेसँग तुलसीपुरको मेयरमा पराजित भएका थिए । गिरी २०५६ सालमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचितसमेत भएका थिए । गठबन्धनबाट तुलसीपुरको उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना उम्मेदवार बनाएको छ ।

एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ । खड्का नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालयका सदस्य तथा एमाले दाङका पूर्व अध्यक्षसमेत हुन् । चौधरी सामाजिक अभियान्ता हुन् । त्यसैगरेर एमालेबाट लमही नगरपालिकाको मेयरमा डण्डीराम चौधरी र उपमेयरमा सुशीला शर्मालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्मालाई टिकट दिएको छ । पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । शान्तिनगर गाउँपालिकाका विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरलाई उम्मेदवार बनाएको छ ।

Blog Post Ad Blog Post Ad