Ad Area

कोरोना प्रभावित व्यवसायीहरुको पुनर्उत्थानका लागि मुक्त कमलरी विकास मञ्चको सहयोग


घोराही २६, असोज । मुक्त कमलरी विकास मञ्चले कोभिड १९ बाट प्रत्यक्ष प्रभावित भएका साना व्यवसायीहरुको पुनर्उत्थानका लागि ६ लाख बराबरको राहत वितरण गरेको छ । मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तर्गत संस्थाको पहलमा वडा कार्यालयबाट सिफारिस भई आएका ३० जना साना उद्यमीहरुलाई सोमबार एक कार्यक्रम गरी राहत स्वरुप उनीहरुले गर्दै आएको व्यवसायकै सामग्री प्रदान गरिएको हो ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय सचिव निर्मला चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर २, ४ र ८ का ३० जना साना उद्यमीलाई जनही २० हजार रुपैयाँ बराबरको जिन्सी सामान वितरण गरिएको छ ।

विभिन्न कारणले प्रभावित भएका साना व्यवसायीहरुको व्यावसायिक पुनर्उत्थानका लागि उपमहानगरपालिका अन्तरगतका महिलाहरुलाई राहत स्वरुप सहयोग गरिएको हो । आईएम नेपालको आर्थिक सहयोगमा वितरण गरिएको उक्त सहयोग लिनेहरुमा १ जनालाई बाख्रा, ५ जनालाई बंगुरका पाठा, कृषि व्यवसायका ७ जनालाई कृषि सामग्री दिइएको छ । यसैगरी, सिलाईकटाइका उपकरण ३ जनालाई, होटल सम्बन्धी सामग्री २ जनालाई, किराना पसलका लागि ८ जनालाई उनीहरुले संचालन गर्दै आएको पेशा व्यवसायकै सामग्री दिइएको हो । यसैगरी, साईकलसम्बन्धी सामग्री १ जनालाई , फर्निचर सम्बन्धी सामग्री १ जनालाई र फ्रेस हाउस संचालन गर्दै आएका १ जनालाई उनीहरुकै व्यवसाय लक्षित सामग्री प्रदान गरिएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख नेपालीले कुनै पनि काममा सफलता हासिल गर्न त्यसको सपना देख्नुपर्ने बताए । आफुले गर्ने काम मनमा दृढ संकल्प लिएर अघि बढेमा जीवन माथि उठाउन सहज हुने उनले विश्वास व्यक्त गरे ।

Blog Post Ad

कुनै पनि काम गर्दा सतहबाट माथि उठ्न लगनशीलता, नियमपतता र सकारात्मक सोँच चाहिने हुँदा त्यसका लागि निरन्तरको मेहनत गर्न साना उद्यमीलाई हौसला प्रदान गरे । आफ्ना विगतका केही उदाहरण सुनाउँदै प्रमुख नेपालीले हरेक दृष्टिकोणले आफु किन पछि परेँ भन्ने मनमा चिन्तन राखेर अघि बढेमा समस्या पहिचासँगै समाधानमा सहज हुने बताऐ । ‘समय र योजनासँग अघि बढ्नुपर्छ, अनि लक्ष्य पाउन सकिन्छ । परिश्रममा विश्वास गर्नुस् । सफलता तपाइँसँगै छ,’ उनले भने ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले कोरानाले पारेको असर दीर्घकालीन रुपमा परेको बताए । अहिले समाजमा यसका असरको प्रभाव देखा पर्न थालेको भन्दै स्थानीय सरकारले पनि व्यावसायिक उत्थानका लागि पुनर्लाभका कार्यक्रममा सहयागी बन्दै आएको जानकारी गराए ।

पछाडि परेको समुदायको उत्थानका लागि कोरोना खोप, राहत, व्यावसायिक पुनर्उत्थानमा स्थानीय सरकार अघि बढेको उनको भनाई थियो । आर्थिक गतिविधिलाई चलायमान बनाउँदै अब नागरिकको जीवन माथि उठाउन कसरी सकिन्छ भनेर विभिन्न खालमा नितिहरु कार्यान्वयनमा लग्ने काम भईरहेको उनले जानकारी दिए । ‘दोश्रो चरणको कोरोना कालमा नागरिकले म भोकले मरेँ भनेर एक जना पनि आएनन्, यो हेर्दा मानिसको जीवनस्तर केही माथि उठेको हाम्रो ठहर हो तर, यो पर्याप्त छैन, यसका लागि हामी पुनर्उत्थानका कार्यक्रमलाई प्राथमिकता दिएका छौंँ,’ नगरप्रमुख चौधरीले भने ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्की, वडा नम्बर २ का वडा अध्यक्ष केशव आचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी, संस्थाका कानूनी सल्लाहकार फकला थारुलगायत बोलेका थिए । उनीहरुले संस्थाले दिएको सहयोग रकम सानो भएपनि बीउ पूँजीको रुपमा लिएर राम्रा उदाहरणीय काम गर्न उद्यमीहरुलाई अपिल गरेका छन् । राहत वितरण कार्यक्रमको सहजीकरण मञ्चका प्रबन्धक माधवराज चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad