Ad Area

वर्तमान सरकार कोबाट कसरी परिचालित छ प्रष्ट भयो- नेता पोख्रेल


घोराही २५, असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्दै पार्टी नेतृत्व तहमा पनि आक्रमण गरिनु पछिको कारणहरु देउवा सरकारको कामले एकपछि अर्को गर्दै सहस्योद्घाटन हुँदै गएको बतताएका छन् ।

हिजोका दिनमा प्रतिनिधि सभा विघटन पछिको अवस्थामा पार्टीका तर्फबाट गलत कदम चालियो की भन्ने धेरैलाई परेपनि सर्वोच्च अदालतको फैसला कसको सेटिङ्गमा कसरी हुँदा रैछन् भन्ने कुरा संघीय मन्त्री परिषद गठनले पुष्टि गरेको दावी गरे ।

नेपाल लोकतान्त्रिक थारु संघ जिल्ला कार्यसमिति दाङले सोमबार घोराहीमा आयोजना गरेको दशैं तिहार लक्षित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले मन्त्रिपरिषद बिस्तारमा प्रधानन्यायाधीश जोडिएपछि यो भ्रम चिर्ने काम भएको उनको भनाई थियो । ‘यो सरकारले काम कुन तहबाट नियोजित रुपमा संचालित छ भन्ने कुराको रहस्योद्घाटन भएको छ । अदालतको फैसलासँग मन्त्री पद र राजदूत पदको मोलमोलाई भएको भन्ने कुरा जनमानसमा आएको छ । यो निकै लाज मर्दो कुरा हो,’ उनले भने ।

उहाँले इतिहास फर्केर हेर्ने हो भने पनि कांग्रेसले जति बेला संसद विघटन गर्यो त्यो बेला सर्बोच्चले सदर गरेको तर कम्युनिष्ट पार्टीले ताजा जनादेशका लागि निर्वाचनमा जान संसद विघटन गर्दा सर्बोच्चले बदर गर्ने काम गरेको भन्दै राजनीतिक घटनाक्रम स्मरण गराए ।

राजनीतिक वृत्तमा जुन ढंगले घेराबन्दी हाल्ने काम भएपनि जनताको व्यापक जनसमर्थनबाट फेरि पनि बहुमतको सरकार निर्माण गरेर देखाईदिने उनको विश्वास थियो । वर्तमान गठबन्धनले एमालेलाई कसरी सरकारबाट हटाउने, घेराबन्दी गर्ने भन्ने षडयन्त्र गरे पनि फेरी जनताको साथ र हौसलाबाट पार्टी नयाँ उचाईमा आउने विश्वास व्यक्त गरे ।

जनताको व्यापक समर्थन र हौसलालाई शिरोधार्य गर्दै परमादेशको सरकारलाई जनादेशबाट फेरि किनारा लगाउने गरि पार्टी अघि बढेको जानकारी गराए । ‘२० प्रतिशत संख्या भए दल विभाजन गर्न पुग्ने व्यवस्थामा कही कतै हुन्थ्यो भने त्यो अस्वाभाविक घटना थियो । यदि यही विधि जायज थियो भने गठबन्धनले कार्यान्वन गर्नु पथ्र्यो, किन फिर्ता गरेको ?’ भन्दै प्रश्न गरे ।

Blog Post Ad

दल विभाजनका लागि ल्याईएको अध्यादेशले अन्ततः माओवादी, कांग्रेस, जसपालाई नै संकटमा पारे पछि फेरि फिर्ता लिने काम भएको नेता पोख्रेलले बताए । यसले पनि एमालेलाई मात्रै विभाजन गर्ने गरी ल्याइएको षडयन्त्र मात्रै भएको बताउँदै माधव नेपालले यसैको जगमा एमाले विभाजन गर्ने काम गरेको जिकिर गरे । उनले भने, ‘कुनै एउटा दलमाथि गलत धारणा राखेर काम गरिन्छ भने त्यो सरासर राजनीतिक अपराध हो । देउवा, दाहाल, नेपाल मिलेर जे गरेका थिए अब त्यो जनताका बीचमा छर्लङ्ग आएको छ । अब यो कुरालाई हामीले पनि जनतामा स्पष्ट पार्नु जरुरी छ ।’

वर्तमान गठबन्धनको कर्तुत एक पछि अर्को गरी बाहिरिँदै गएकाले सरकारबाट एमाले बाहिरिँदा तत्कालका लागि घाटा भएपनि यसको लाभ भोलि मिल्ने बताए । एमालेले अघि सारेका दीर्घकालीन विकास निर्माण र योजनाका काम प्रभावित भएपनि भोलिका दिनमा जनताले दिने म्यान्डेटले एमालेलाई थप उचाई दिनेमा उनको विश्वास छ । ‘अबको ६ महिनाभित्रमा स्थानीय चुनाव गर्नैपर्छ त्यो बेलामा जनताले देखाउने छन् कि को शक्तिशाली छ, उनले भने, ‘समाजलाई सही बाटोमा हिडाउँदै समृद्धिको बाटोमा अग्रसर गराउने एमालेको लक्ष्य हो ।’

नेपाल लोकतान्त्रिक थारु संघ जिल्ला अध्यक्ष मंगल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष टीकाराम खड्का, थारु कल्याणकारिणी जिल्ला अध्यक्ष भुवन चौधरी, महेन्द्र बहुमुखी क्याम्पस सह प्राध्यापक कुलबिर चौधरीलगायतले बोलेका थिए ।

उनीहरुले राजनीतिक अतिवादले सांस्कृतिक परम्परा संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । थारु आयोग एमाले सरकारका बेला गठन भएपछि थारु समुदायको उत्थानमा केन्द्रित रहेकाले यसको निरन्तरताका लागि सबै जागरुक बन्नुपर्नेमा उनीहरुको जोड थियो ।

थारु समुदायको भाषा, संस्कृति, रितिरिवाज जोगाउन यस्ता संघ संस्था चाहिने भन्दै संरक्षणका लागि नतिजा देखिने गरि अगुवाई गर्न पनि वक्ताहरुको आग्रह थियो । कार्यक्रममा थारु नाच पनि प्रस्तुत गरिएको थियो । संघकी उपाध्यक्ष सीता चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण लौटन चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad