Ad Area

कृषि र अतिथि सत्कार सम्बन्धि तालिम लिएका ४० युवाहरुलाई सहयोग


घोराही २२, असोज । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले कोरोनाका कारण रोजगारी गुमाएका युवालाई आत्मनिर्भर बनाउन तथा स्वालम्बनका कार्यक्रम गर्न ईच्छुक युवाहरुका लागि पालिकाले विशेष प्राथमिकता दिएको बताएका छन् ।

कोरोनाले पारेको आर्थिक, सामाजिक असर दीर्घकालसम्म पर्न सक्ने अवस्थालाई मध्येनजर गर्दै विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा लक्षित युवाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसँगै प्राविधिक सहयोग समेत हुने गरेको बताए ।

पारिवारिक खेती सबलीकरण, कोभिड १९ बाट प्रभावितहरुको लागि जिविकोपार्जन सुधार परियोजना अन्तर्गत १ महिने व्यावसायिक तरकारी खेती र अतिथि सत्कारसम्बन्धि तालिम लिएका ४० जना युवाहरुलाई प्रमाण पत्र र सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले युवाहरु समाज परिवर्तनका सम्वाहक भएकाले उनीहरुको सीप क्षमता र दक्षताका आधारमा काममा प्रोत्साहन दिने गरी घोराही उपमहानगरले सहयोग गर्न तयार रहेको बताए ।

घोराही उपमहनगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले ग्रामीण क्षेत्रको विकासको अवधारणालाई पालिकाले अघि सारेर काम गरिरहेकाले गाउँठाउँमा पनि रोजगारका थुप्रै सम्भावना बढेको बताए ।
हाललाई केही क्षेत्रमा बजारमा रोजगारीका लागि सीप बेच्न जानु पर्ने बाध्यता भएपनि भोलिका दिनमा ग्रामीण क्षेत्रमा पनि युवाहरुको सबै सीप उपयोग हुने विश्वास व्यक्त गरे । तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्दै आर्थिक जीवन माथि उठाउन अब युवाहरुले ढिलाई गर्नु नहुने उहाँको सुझाव थियो ।

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्ड र जिआईजेड एलपीईडी परियोजनाको साझेदारीमा एलाईन्स नेपाल र कबिला टेक्निकल ईन्स्टिच्युटको सहकार्यमा घोराही १ सँग समन्वय गरी तालिमसँगै ३ लाख २० हजार बराबरको विभिन्न सामग्री ४० जनालाई निशुल्क हस्तान्तरण गरिएको हो ।

Blog Post Ad

सो अवसरमा जिआईजेडका प्राविधिक सल्लाहकार चुडाराज गिरीले स्थानीय स्तरमा पहुँच अभिवृद्धि गरी युवाहरुको आर्थिक सामाजिक जीवन माथि उठाउन उनीहरुको योजनाका परियोजनाले सहयोग गरेको बताए । हातमा सीप लिएर केही गर्न सक्छु भन्ने योजना बनाएका सबै युवाहरुलाई हौसला प्रदान गर्दै उहाँले सिकेको सीपलाई आयआर्जनसँग जोड्न अपिल गरे । तालिममा सहभागी प्रशिक्षार्थीहरुका तर्फबाट नोखिराम गिरीले सीपविहिनको अवस्थाबाट माथि उठाउँदै हातमा सीप दिएको भन्दै अब आयआर्जनसँग आफुलाई जोड्दै आत्मनिर्भर बन्न कटिवद्ध हुने वचन दिए ।

ली–बर्डका ऋषिराज वलीले पहिलो चरणमा परियोजनाले जिल्लाभर तरकारीका लागि ५ सय जना छनौट गरी तरकारीको बीउ, कुखुरा वितरणसँगै सिचाईका लागि हजारीलगायत सामग्री वितरण गरेको जानकारी दिए । दोश्रो चरणमा दाङको घोराही १ र ९९ नम्बर वडामा रहेका युवाहरु छनौट गरी तरकारी खेती, अतिथि सत्कार र प्लम्बिङको तालिम दिएको बताए ।

परियोजनाले ५ वटा जिल्लाका पालिकामा यो कार्यक्रम संचालन गरेको उनको भनाई छ । जस अनुसार बुटवलको बुटवल उपमहानगर, दाङको घोराही उपमहानगर, बाँकेको नेपालगन्ज उपमहानगर, सुर्खेतको विरेन्द्रनगर उपमहानगर, धनगढीको धनगढी उपमहानगरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा घोराही उपमहानगर पालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले परियोजनामार्फत कृषि क्षेत्रमा भईरहेको प्रयासले भोलिका दिनमा राम्रो परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । छनौट गरिएको क्षेत्र र तालिम लिएकाहरु लक्षित समुदायबाटै परेकाले यसको नतिजा सकारात्मक आउनेमा ढुक्क हुन आग्रह गरे ।

कबिला टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष शिशिर पौडेलले प्राविधिक सीप तथा तालिमका माध्यमबाट युवाहरुलाई सक्षम र आत्म निर्भर बनाउन यसका खालका कार्यक्रम तथा अभिमुखीकरण भईरहनु पर्ने बताउनुभयो ।

तालिम समापन, प्रमाण पत्र वितरण तथा सामग्री हस्तान्तरण कार्यक्रममा सहभागीहरुले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्दै दैनिक जीवन माथि उठाउन दत्तचित्त भई लाग्ने बताएका छन् । कार्यपालिका सदस्यले टोपाकुमारी पौडेलले सहजीकरण गरेको कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुले तकारी खेती गर्दा चाहिने अत्यावश्यक सामग्री प्राप्त गरे भने अतिथि सत्कारमा सहभागी भएका प्रशिक्षार्थीहरुलाई पनि उनीहरुको क्षेत्र अनुसार निशुल्क सामग्री वितरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad