Ad Area

ग्रेडर मेसिन हाक्दै अनिता


दाङ, ९ जेठ ।  घोराहीका सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा भेटिनुहुन्छ्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाहरु बढेपनि हेभी सवारी साधन चलाउने महिलाहरुको संख्या कम भैरहेको समयमा विगत चार बर्षदेखि दाङलगायतका विभिन्न ठाउँमा अनिताले सडक तथा पुल निर्माणका क्षेत्रमा हेभी इक्विमेन्टका रुपमा गे्रडर मेसिन चलाउँदै आउनुभएको छ ।

करिव विगत एक बर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत अनिता पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकास निर्माणका काममा हेभी इक्विमेन्टका रुपमा ग्रेडर मेसिन चलाउदै आउनुभएको हो । १२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तीको सहयोगमा बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन सिकेको ग्रेडर चालक अनिता बताउँनुहुन्छ । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई अघि बढाउन नसकेर घरमै बसेको थिए’,उहाँले भन्नुभयो,‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।’ उहाँका अनुसार त्यो समय घोराही–मुर्कुटी सडक बनाउने काममा भिनाजुले ग्रेडर चलाउने काम गर्नुहुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक बर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको उहाँ बताउँनुहुन्छ ।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाई छ । करिव एक बर्षपछि काम गरेपछि चलाउन सक्ने हुनु भयो तर उहाँ लाइसेन्स थिएन । लाइसेन्सका लागि २०७६ भदौमा तुलसीपुरमा परिक्षा दिनुभयो । हेभी इक्विमेन्टका लागि सहभागी १३ जना मध्य परिक्षा दिनेमा अनिता एक्ली महिला हुनुहुन्थ्यो । लाइसेन्सका लागि ट्रायलमा हेभी इक्विपमेन्ट अन्तर्गत कठिन मानिने ग्रेडर मेसिन स्टार्ट गर्नुभयो र, निर्धक्कसँग चलाउनुभयो ।
पहिलो प्रयासमै लाइसेस प्राप्त गदाको क्षणलाई जीवनको खुशीको क्षण सम्झिनु हुने अनिताले त्यसपछि जागिरेका क्रममा दाङ, प्यूठान र बर्दियाका विभिन्न ठाउँमा निर्माण सम्वन्धी काम गरेको बताउनुहुन्छ । ‘हेभी इक्विपमेन्टका रुपमा रहेको ग्रेडर मेसिन चलाउन सक्ने भएको थिए तर लाइसेन्स नहुँदा समस्या थियो’,उहाँले भन्नुभयो,‘२०७६ साल भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । उक्त ट्रायलमा पास भएपछि मलाई काम सहजता भयो ।’

अन्य सवारीसाधन भन्दा चलाउन कठिन भएपनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ‘अन्य उपकरणभन्दा यो मेसिन चलाउन निकै कठिन हुन्छ’,चालक चौधरी भन्नुहुन्छ्,‘तर आफुभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज बनेको छ ।’ उनी चार बर्षदेखि ग्रेडर मेसिन चालकका रुपमा काम गर्दै आउनु भएकी उहाँले आफु जस्ता महिलालाई बेरोजगार बस्नुभन्दा कुनै पनि सिप सिकेर काम लाग्न समेतआग्रह गर्नुहुन्छ ।

निर्माणका क्षेत्रमा महिलाहरुलाई काम गर्न कठिनाई भएपनि आफ्नो कामबाट आफु सन्तुष्ट रहेको उहाँको भनाई छ । ‘निर्माणको क्षेत्रमा गर्ने काम गाह्रो भएपनि मलाई यही पेशामा सन्तुष्टि छ’,उहाँले भन्नुभयो््,‘धेरै पढेको भए ठुलो अपेक्षा हुन्थ्यो र अरु काम खोज्ने हुन्थ्यो होला । पढ्न सकिएन त्यसैले ग्रेडर अप्रेटर नै मेरा लागि ठिक छ ।’ अनिता परिवारका ४ सन्तान मध्य एक्ली छोरी हुनुहुन्छ ।

स्थानीय सूर्य माध्यामिक विद्यालयबाट १० कक्षा पास गर्नुभएकी उहाँले बाँके जिल्ला कोहलपुरस्थीत बागेश्वरी माध्यामिक विद्यालयबाट १२ कक्षा पास गर्नुभएको थियो । तर कमजोर आर्थिक अवस्था कारण उहाँले पढाई छोडेर मेसिन अपरेटर बन्न लागेको बताउनुुहुन्छ । ‘पढ्न रहन थियो । तर घरको कमजोर अवस्था कारण १२ भन्दामाथि पढ्न सकिन’,उहाँले भन्नुभयो,‘पढ्न छोडेपछि घरमा बस्नुभन्दा केही गर्नुपर्छ भनेर चालकको काम गर्न थालेको हुँ ।’ सुरुमा दाङको घोराही–मुर्कुटी सडक खण्डमा काम गर्दा ग्रेडर चलाउँदा महिलाले पनि चलाउँछन भनेर धेरै मानिसहरु आफ्नो काम छोडेर हेर्न आउने गरेपनि अहिले अवस्था सामन्य हुँदै गएको उहाँ बताउनुहुन्छ । ‘सुरुमा दाङलाई प्युठानसँग जोड्ने घोराही–मुर्कुटी सडक निर्माणका क्रममा मैले काम सिकेको थिए’,उहाँले भन्नुभयो,‘त्यसक्रममा मैले सुरुमा ग्रेडर चलाएको हेर्न महिला र पुरुषहरु काम गर्ने ठाउँसम्म आउनुहुन्थ्यो । केटी मान्छेले पनि यस्तो काम गर्न सक्ने रहिछन् भन्नुहुन्थयो ।’ सुरुमा परिवारबाट सहयोग नभएपनि अहिले पूर्ण सहयोग रहेको अनिता बताउनुहुन्छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad