Ad Area

चन्द्रबहादुरको फेरिएको भूमिका


दाङ,१३ जेठ । करिव दुई महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा कार्यालय सहयोगीका रुपमा थिए । विहान ९ बजे कार्यालय जाने, कार्यालय सरसफाई, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानीको व्यवस्था गर्नेदेखि बचेको समयमा सेवाग्राहीलाई समेत सहयोगीको रुपमा सहजीकरणको काम गर्न भ्याउने गरेका थिए । तर वैशाख ३० को चुनावपछि उनको भूमिका फेरिएको छ ।

वडा कार्यालय आउने सेवाग्राहीलाई कुन काममा आएको सोध्ने र त्यही अनुसार कर्मचारीलाई काममा सहयोग गर्ने चन्द्रबहादुर गुरुङ त्यही वडामा वडा अध्यक्षमा निर्वाचित भएपछि उनको भूमिका फेरिएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका चन्द्रबहादुरले जनताको चाहनाअनुसार वडाको विकासको काम गर्ने बताउँछन् । ‘वडाको विकासका लागि कुन आवश्यकता छ । त्यो पहिचान गरेर विकास निर्माणका काम गर्नेछु’, उनले भने– ‘पाँच बर्षको अवधिलाई गर्व गर्न लायक बनाउने प्रयास गर्नेछु ।’

उनले दोस्रो तलामा भएको वडा अध्यक्षको कार्यकक्ष आफू निर्वाचित भएपछि पहिलो तलमा झारेको बताए । ‘वडा जनताको घरदैलोको सरकार हो । यहाँ सबै प्रकारका सेवाग्राही आउनुहुन्छ’, वडाध्यक्ष गुरुङले भने– ‘माथिल्लो तलामा कार्यकक्ष हुँदा अपांगता भएका व्यक्तिहरु र ज्येष्ठ नागरिक माथिल्लो तलासम्म जान सक्ने अवस्था थिएन । त्यसलाई हटाउनका लागि कार्यकक्ष तल्लो तलामा सारेका छु ।’ जसले गर्दा वडामा आउने सबै सेवाग्राहीले वडाध्यक्षलाई भेट्न सकिन भन्ने उनको अपेक्षा छ ।

३२ वर्षीय गुरूङ वडाध्यक्ष जित्नुभन्दा अघि करिब पाँच बर्ष करार सेवामा कार्यालय सहयोगीको रूपमा काम गरेका थिए । राजनीतिदेखि परिवारसमेत टाढा रहेको बताउने गुरुङले कार्यालय सहयोगीका रुपमा काम गर्दागर्दै आफूलाई राजनीतिले तानेको बताए । ‘समाज सेवामा सानैदेखि रूची थियो । तर राजनीति गर्ने मन थिएन’, वडा अध्यक्ष गुरुङले भने– ‘त्यही भएर अहिलेसम्म पार्टीमा लागेको पनि थिएन । तर एमाले निकट कर्मचारी संगठनमा आवद्ध थिए ।

जसले गर्दा उम्मेदवार हुँदै वडाध्यक्ष बन्न मद्दत ग¥यो ।’ स्थानीय तहको निर्वाचनको चर्चा सुरू भैसकेको थियो तर चुनाव लड्ने सोच थिएन । तर कार्यालय आउने सेवाग्राहीदेखि घरदेखि वडा कार्यालयसम्म आउँदा–जाँदा धेरैले चुनाव लड्न सुझाव दिन थालेपछि मन बद्लिदै गयो । सबै काम जानेको र युवा उठ्नुपर्छ भनेर हौसल्ला दिन थालेपछि चैत महिना कार्यालय सहयोगीबाट राजीनामा दिएर चुनावी तयारीमा लागेको गुरुङ बताउँछन् ।

तर वडाध्यक्षका लागि चन्द्रबहादुरलगायत पाँचजनाको नाम सिफारिस थियो । निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगरसहितका नाम थिए । जसले गर्दा टिकट पाउनै मुस्किल थियो । तर अन्तिममा पार्टीले विश्वास गरेर उनलाई नै उम्मेदवार बनाउने निर्णय ग¥यो । पाँच वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका गुरुङको नाम वडावासीको मनमा थियो । त्यसैको परिणाम वडाध्यक्षमा गुरुङले ९५० मत प्राप्त गरेर बिजयी भए ।

२०६२ सालमा एसएलसी उत्तीर्ण गरेका गुरुङ गरिबीका कारण तीन बर्ष बैदेशिक रोजगारीका क्रममा साउदी अरब र मलेसिया बसेका थिए । ‘पढ्न मन थियो । तर सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ’, उनले भने– ‘पढ्न छोडेपछि कामका लागि विदेश गएर घर फर्किएको थिए ।’ घर फर्किएर पुनः विदेश जाने तयारीमा रहेका बेला निवर्तमान वडा अध्यक्ष गोकर्णले वडामा करार सेवामा कार्यालय सहयोगीको रुपमा काममा चन्द्रबहादुरलाई राखेपछि विदेश जाने योजना त्यागेर वडाको काममा लागेका थिए ।

‘घरमा काम नभएर फेरि विदेश जाने तयारीमा थिए । त्यही समयमा निवर्तमान वडा अध्यक्षले कार्यालय सहयोगीका रुपमा मलाई राख्नुभएको थियो’, उनल भने– ‘म बिहान ९ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै घर फर्किन्थे ।’ उनका अनुसार कार्यालयको सरसफाइदेखि चिया, पानी पु¥याउनु, हाकिमको आदेशमा मागेको फाइल पु¥याएर सहयोग गर्नु, कार्यालय सरसफाइदेखि सबै कर्मचारीलाई सहयोग गर्दै आएका थिए ।

जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने गुरुङको अठोट छ । कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना उनको छ । ‘ठूलो होस् वा सानो सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ’, उनले भने– ‘कसैलाई कार्यालयमा विभेद गर्नुहँुदैन’, उनले भने ।

उनले वडाको विकासका लागि जनताको आवश्यकता अनुसार विकास गर्ने र त्यसका लागि निर्वतमान वडाध्यक्षले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । ‘पहिला कार्यालय सहयोगीको रूपमा जहाँ काम गरे आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु’, वडा अध्यक्ष गुरुङले भने– ‘मैले हिजोका दिनहरुमा तल्लो तहबाट काम गर्दा धेरै कुरा महशुस गरेको छु । अबको कार्यकाल त्यही तथ्यलाई आत्मसात् गरी जनताको काम गर्नेछु ।’