Ad Area

वर्षाले उद्योग तथा व्यवसायमा ३१ लाख बढीको क्षति


दाङ, १६ जेठ । घोराहीमा शनिवार भएको भारी वर्षाको कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पस्दा ३१ लाख ६२ हजार रूपैयाँ बढीको क्षति भएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आइतवार १६ वटा उद्योग तथा पसलमा लिएको तथ्याङ्कमा उक्त रकम बराबरका सामग्री तथा महत्वपूर्ण कागज–पत्रमा समेत क्षति पुगेको क्षति सङ्कलन समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले बताए । विवरण लिने काम जारी रहेको समेत उनले बताए ।

‘हामीले उद्योगी तथा व्यवसायीको व्यवसायमा पुगेको क्षतिको तथ्याङ्क लिने काम सुरु गरेका छौँ’, उनले भने । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेको उनको भनाइ छ । क्षति पुगेको जानकारी आएका स्थानमा पुगेर विवरण लिने काम गरिने उनले बताए । क्षतिको विवरण सङ्कलन गर्न पुगेको टोलीले दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनीहरूले हरेक वर्ष यसरी नै आफूहरू पीडामा पर्ने गरेको बताएका थिए । पीडितले आफूहरूलाई क्षतिपूर्तिभन्दा पनि दीर्घकालीन समस्याको समाधान हुनु पर्ने बताएका थिए ।

क्षतिको सङ्कलन गरेपछि अन्य प्रक्रिया अगाडि बढाइने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । उद्योगी, व्यवसायी एवं नागरिकले भोग्नु परेको समस्या समाधानका लागि आफूहरूले आफनो तर्फबाट पहल गर्ने समेत अध्यक्ष बुढाथोकी बताए । ‘हामी दीर्घकालीन समस्या समाधानका लागि पहल गर्ने छौँ’, अध्यक्ष बुढाथोकीले भने, ‘त्यसका लागि स्थानीय सरकार, स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय तथा सरोकारवालासँग समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

क्षति सङ्कलन समितिका संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको नेतृत्वमा क्षतिको सङ्कलन गरिएको हो । सो अवसरमा संघका अध्यक्ष टंकसिंह बुढाथोकी, समितिका सदस्यहरू जगतप्रसाद आचार्य, लीलाराम खड्का, विकास वलीलगायतको सहभागिता थियो । यसैबीच शनिवार दिउँसो भएको भारी वर्षाको कारण घोराही बजारमा डुबान पर्दा उद्योग तथा व्यवसायमा पुगेको क्षतिको सङ्कलन गर्ने निर्णय गरेको छ । संघको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वर्षाले उद्योग तथा व्यवसायीको व्यवसायमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । उद्योगी तथा व्यवसायीको वर्षाले पु¥याएको क्षतिप्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको अध्यक्ष बुढाथोकीले बताए ।

Blog Post Ad

क्षतिको विवरण सङ्कलनका लागि संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजत्वमा सदस्यहरू विकास वली, जगतप्रसाद आचार्य, जुद्धबहादुर घर्ती र लीलाराम खड्का सदस्य रहेको समिति गठन गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । बैठकले दीर्घकालीन ढल निकासका लागि जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका कार्यालय, र घोराही उपमहानगरपालिका वडा नं १४ र १५ का वडा कार्यालयहरूसँग समन्वय गरेर समस्या समाधानको लागि यथाशीघ्र पहल गर्ने निर्णय गरेको छ । बैठक संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा बसेको थियो ।

Blog Post Ad Blog Post Ad