Ad Area

मेरील्याण्ड एकेडेमीले सिरियालाई कक्षा १२ सम्म निशुल्क पढाउने


घोराही, २० जेठ । घोराही १३ सेवारस्थित मेरील्याण्ड पब्लिक एकेडेमीले एक बालिकालाई कक्षा १२ सम्म निशुल्क पढाउने भएको छ ।

विद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले शुक्रबार घोराही १८ बालुवाटार नजिक बस्दै आएकी ८ वर्षीया सिरिया नेपालीलाई विद्यालयमा भर्ना गर्दै उनको कक्षा १२ सम्मको सबै खर्च विद्यालयले व्यहोर्ने जानकारी गराउनुभएको छ । सरस्वती मावि काठेकोलमा कक्षा २ मा अध्ययनपछि अब के गर्ने भन्ने अन्योल भएकाले सामाजिक कार्यमा क्रियाशील सरीता नेपालीले सामाजिक सञ्जालमा सिरियाको अवस्थाबारे जानकारी गराएपछि मेरील्याण्डका प्रिन्सिपल श्रेष्ठले चासो लिनुभएको हो ।

शुक्रबार औपचारिक रुपमै सिरियालाई विद्यालयले विद्यार्थीको रुपमा निशुल्क भर्ना गरेको छ । हजुरआमा मनकुमारीसँगै विद्यालय पुगेकी सिरियालाई विद्यालयका प्रिन्सिपल श्रेष्ठले नयाँ ड्रेस लगाई दिँदै युकेजीको किताव थमाउँदै आगामी दिनको शैक्षिक यात्रा सफलताको शुभकामना दिनुभएको छ । स्कुलको नयाँ कपडा अनि कापी किताव पाएपछि सिरिया दंग पर्दै यो काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

मेरो भविष्यलाई लिएर यसरी भूमिका खेल्नु हुने सबैलाई धेरै धन्यवाद छ,’ सिरियाले भन्नुभयो ‘अब मेरा दुखका दिन गए, अँध्यारोबाट उज्यालो बाटोमा अघि बढ्दैछु ।’ उसो त, विद्यालयले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बालिकाको उज्जवल शिक्षाका लागि लगानी गरेको बताएको छ । ‘विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव, असहाय, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति स्वरुप निशुल्क अध्ययन गराउनुपर्छ भन्ने विद्यालयको मान्यता अनुरुप मेरील्याण्ड पब्लिक एकेडेमीले सिरियाको सबै पढाई खर्च व्यहोरेको छ,’ प्रिन्सिपल श्रेष्ठले भन्नुभयो, ‘अब उनले कक्षा १२ सम्म निशुल्क पढ्न पाउनेछिन्, यो अभिभारा विद्यालयले लिएको छ । सिरियाको हामी उज्जवल भविष्य बनाउन विद्यालयबाट असल शिक्षा, दिक्षा अनि संस्कार दिन्छौँ ।’

Blog Post Ad

मेरील्याण्ड एकेडेमी स्थापना भएको ३ वर्ष हुँदैछ । हाल कक्षा ९ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयले छोटो समयमा आम अभिभावक तथा शिक्षा क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको छ । यस्तै, सिरियाकी हजुरआमाले घरको स्थिती अत्यन्तै नाजुक भएकै कारण दैनिकी चलाउन आफु सडक व्यापार गर्न बाध्य भएको बेला यसरी नातिनीको शिक्षा दिक्षाका लागि विद्यालयले जिम्मेवारी लिएपछि निकै खुशी हुनुभएको छ ।

‘गरिव दुखीलाई हेर्ने पनि हुने रैछन् भन्ने मैले आज महसुस गरेँ, यति ठूलो काममा विद्यालयले हात अघि बढाएको छ, म विद्यालयलाई धेरै धन्यवाद भन्छु,’ मनकुमारीले भन्नुभयो, अहिलेको जमानामा महंगाईको बेला नातिनीको सबै पढाई खर्च विद्यालयले हेरिदिने भएपछि यो भन्दा ठूलो गुन के हुन्छ र ?’ उमेरले ५६ वर्ष पुग्नुभएकी हजुरआमा मनकुमारी नेपालीलाई छोराबुहारीले साथ देलान् भन्ने ठूलो अभिलाषा भएपनि पूरा हुन नसक्दा नातिनीको स्याहारसुसार गर्नुपरेको छ ।

सिरियाकी आमा अर्कै श्रीमान लिएर गएको, बुवाले पनि अर्की श्रीमति लिएर अन्यत्रै बस्न थालेपछि भर्खरै हुर्किँदै गरेका दुई नातिनीको कसरी लालनपालन गर्ने होला भन्ने पीर हजुरआमाको काँधमा रहेको छ । अत्यन्तै कमजोर आर्थिक अवस्थामा गुजिै्ररहेको सिरियाकी हजुरआमा घरखर्च धान्न मकै पोल्ने काम गर्दै आउनुभएको छ । अरु सिजनमा पनि सडकपेटीमै फलफूल आदिको नाङ्लो व्यापार गर्नुहुन्छ ।

Blog Post Ad Blog Post Ad