Ad Area

चुनढुंगा ओसार्ने टिपरलाई प्रतिबन्ध


सल्यान,२१ जेठ । जिल्लाको कपुरकोट गाउँपालिकाले अत्यधिक भारवहन गरी आवतजावत गर्ने टिपरलाई राप्ती राजमार्गको कपुरकोट सडक खण्डमा प्रतिबन्ध लगाएको छ । स्थानीयको गुनासो बढ्दै गएपछि नवनिर्वाचित जनप्रतिनिधिहरुको ७१ औं कार्यपालिका बैठकले निर्णय गर्दै टिपरलाई आउजाउमा प्रतिबन्ध लगाएको हो ।

राप्ती राजमार्गको दाङ–कपुरकोट–खाली हुँदै रोल्पाको त्रिवेणी गाउँपालिकाको कोइलासम्म सञ्चालनमा आउने रोल्पा सिमेन्ट प्रालिका टिपरका कारण झन्डै एक दशकदेखि ज्यानको जोखिम उठाउँदै आएका कपुरकोट आसपासका स्थानीयले टिपर सञ्चालनमा रोक लगाउन माग राख्दै आएका थिए । त्यत्ति मात्र नभइ स्थानीयले बेलाबेलामा विरोधसमेत गर्दै आएका थिए । स्थानीयले बारम्बार पालिकामा माग राख्दै आएपनि सिमेन्ट प्रालि र टिपरवालासँग सरोकारवाला निकायले कपुरकोटमा भेटघाट तथा छलफल गर्दै आएपनि टिपरवालाले त्यसको बेवास्ता गर्दै आएका थिए ।

रोल्पाको त्रिवेणी गाउँपालिकास्थित कोइलामा रहेको रोल्पा सिमेन्ट प्रालिका टिपरले अत्यधिक भारवहन गरी मनपरी चलाउँदा दिनप्रति दिन कपुरकोट आसपास क्षेत्रका बासीको ज्यानको जोखिम बढदै गएको र यसले गर्दा थप असर परेका कारण गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेर प्रतिबन्ध लगाएको पालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । आफ्नो फाइदाको लागि मनपरी गर्ने र जनताको ज्यानमाथि खेलवाड गर्ने टिपरवालालाई सञ्चालनको अनुमति नदिने उनले जानकारी गराए ।

उनका अनुसार एउटा टिपरले २४ मेट्रिक टन मात्र कच्चा पदार्थ तथा चुनढुंगा बोक्न पाउने नियममा उल्लेख छ । तर यहाँ ट्राफिक र प्रहरीको मिलेमतोमा ३३ टनसम्म टिपरले चुनढुंगा बोकेर रोल्पाको कोइलाबाट दाङमा रहेका विभिन्न सिमेन्ट उद्योगमा लैजाने गरेको छ । लुम्बिनी प्रदेशमा रहेको सिमेन्ट प्रालिले सञ्चालन गरेको टिपरका कारण कपुरकोट पालिकाभित्र रहेका र राप्ती राजमार्ग तहसनहस भएको उनको भनाइ छ ।

रोल्पा सिमेन्ट प्रालिले कोइलाबाट चुनढुंगासमेत नियम विपरीत ओसारपसार गरेको र नियमन गर्ने सम्बन्धित निकाय समेत मौन रहेको उनको आरोप छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad