Ad Area

तुलसीपुर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित


तुलसीपुर, २१ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यका लागी जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनिततर्फबाट तीन जना गरी आठ जना निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली,वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिताकुमारी लामिछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहेका छन ।

त्यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित भएका छन । सवै उमेदवारहरुको एकल उमेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो तिन बजे निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिएका छन ।उनीहरु आठ जनाको मात्रै उमेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उनीहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउदो मंगलवार गर्ने तयारी भईरहेको उनले जानकारी दिएका छन ।

गत विहिवार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उमेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए । तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

Blog Post Ad Blog Post Ad