पत्रकार महिलाको क्षमतासँगै वृत्ति विकासमा ध्यान दिन आवश्यक

दाङ, ३० जेठ । पत्रकार महिलाहरुलाई मिडियामा दीर्घकालीन रुपमा टिकाई राख्न उनीहरुको क्षमता विकाससँगै वृत्ति विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सञ्चारिकाले दाङको घोराहीमा आज आयोजना गरेको छलफलमा पत्रकार महिलाहरु मिडियामा दीर्घकालीन रुपमा टिक्न नसक्नुका कारण खोज्दै समाधानका उपायका बारेमा समेत विचार विमर्श भएको छ । कार्यरत सन्चारमाध्यमहरुले पत्रकार महिलाको लागि उचित अवसर दिनुपर्नेमा जोड दिँदै क्षमता विकास र वृत्ति विकासमा पनि विशेष ध्यान दिनुपर्ने सहभागीहरुको जोड थियो । सञ्चारिकाले पत्रकार महिलाको लागि काम गर्दै आएकाले आगामी दिनमा उनीहरुका लागि नीतिगत रुपमा काम गर्न सरोकार निकायसँग पनि छलफल गर्ने भएको छ ।
सन्चारिका लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको क्षमता विकास र अवसरका लागि सबै लाग्नुपर्ने बताउनुभयो । यस्तै, पत्रकार लक्ष्मी आचार्यले पत्रकार महिलाहरुले आफ्नो क्षमताको आधारमा काम पाउनुपर्नेमा जोड दिनुभयो । दाङका महिला पत्रकारहरुले मिडयामा राम्रो काम गर्दै आएकाले यसको मुल्यांकन हुनुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले पत्रकार महासंघले पत्रकार महिलाहरुको लागी कार्यक्रम गर्दै आएका र आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । छलफलमा पत्रकार टीका बस्नेत, सुशीला आचार्य, सञ्चारिका लुम्बिनी प्रदेश सदस्य रञ्जिता अधिकारी, सुशीला वली, रीता लामा, रीया क्षेत्री, अनिता पोख्रेललगायत जिल्लामा कार्यरत पत्रकार महिलाहरुको उपस्थिती रहेको थियो ।