Ad Area

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश


असोज २८ । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो । हिंसा पीडितका परिवारलाई न्याय दिलाउने अभियानमा लागेकी रुबी खानलाई प्रहरीले बहुविवाहको अभियोगमा पक्राउ गरेको थियो । न्याय माग्दै माइतीघरमा अनशनमा बसेका बेला उनलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको हो । इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो ।

उनलाई महानगरी प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर लैनचौरमा जिम्मा लगाएको थियो । महिला शेल नभएको भन्दै लैनचौर राखिएपनि उनलाई भोलिपल्ट नेपालगञ्ज पठाइएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad