Ad Area

दाङमा भूमे पर्व मनाउन सुरु (फोटो फिचर)


घोराही, १ असार । दाङमा भुमे पर्व मनाउन सुरु गरिएको छ । विशेषगरी जमिनको पुजा गर्ने र प्राकृतिक विपत्ति बेहोर्न नपरोस भन्ने विश्वासकासाथ मगर समुदायले मनाउने भुमे पर्व बुधवारदेखि मनाउन सुरु गरिएको हो ।

वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमिको पुजासँगै नाचगान गरेर पर्व मनाउन थालिएको छ । घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन पूर्वसभामुख ओनसरी घर्तीले गरेकी थिइन ।

असार १ गतेदेखि सुरु भएर असारको ५ गतेसम्म भव्यताका साथ मनाइने भुमे पर्वको उद्घाटन पूर्व घोराही उपमहानगरपालिका–१४ लखन थापा पार्कबाट ¥याली निकालिएको थियो । मगर समुदायको साँकृतिक भेषभुषा र बाजागाजासहित सुरु भएको ¥याली बजारका विभिन्न भागको परिक्रममा गर्दै कार्यक्रम स्थल पुगेको थियो ।

नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षता तथा पुर्व सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यता एवं नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजित रोकामगरको विशिष्ट आतिथ्यतामा भएको। कार्यक्रमको उद्घाटन गर्दै पूर्व सभामुख ओनसरी घर्तीले भुमे पर्व मगर समुदायको सवैभन्दा मौलिक तथा सास्कृतिक पर्व भएको बताइन ।

उनले कुनै समय रोल्पाको सानो ठाउँमा मनाइने भुमे पर्व पछिल्लो समय देशभर सवै समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउन थालेको भन्दै खुशी व्यक्त गरेकी थिइन । कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदायको कला सस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले राजनीतिक परिवर्तनले अधिकार प्राप्त गरेपनि अधिकार संरक्षण गर्न नयाँ पुस्ता अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढामगरले गरेका थिए ।

कसरी नाचिन्छ भुमे नाच
जेठ महिनाको मसान्तको अन्तिम दिन बुकी फुल्ने लेकमा गएर विधि बन्धनका साथ टिपेको बुकी फुल र भेडाको बली दिइ पुजा गरेपछि मात्र नाचगान सुरु गरिन्छ । महिलाको एउटा लाइन र पुरुषको अर्काे लाइन गरी दुई लाइनमा नाचिने भुमे नाचमा सवै उमेर समूहका मानिसहरुको सहभागिता रहन्छ ।

भूमे नाचमा दमाह, सहनाइ, ट्याम्की, छिल्लर र नरसिंहा बाजा बजाउँदै स्यामुनाको लयमा गीत गाउँदै नाच्ने गरिन्छ । केही समय अघिसम्म मगर समुदायले मात्र मनाउने भुमे पर्व पछिल्लो समय अन्य जातिहरुले समेत मनाउँदै आएको पाइन्छ ।