होटल व्यवसायीको २८ औँ स्थापना दिवस मनाउन सुरु

घोराही, १ असार । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा आज बक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको छ । आज, भोली र पर्सि विविध कार्यक्रम गरेर समितिले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगितामा घोराही उपमहानगरपालिकाभित्र रहेका विभिन्न १४ विद्यालयको सहभागिता रहेको थियो । पर्यटन प्रर्वधनमा होटल व्यवसायीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पद्मोदय पब्लिक नमुना मावी भरतपुरका दिप्सना भण्डारी प्रथम, अम्बिका माबी हर्नोकका विपिन वली दोस्रो र मावि सौडियारका श्रृजना बुढा मगर तेस्रो हुनुभएको हो ।
प्रतियोगितामा प्रथमलाई पाँच हजार, दोस्रोलाई ३ हजार र तेस्रो हुने विद्यार्थीलाई २ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै कार्यक्रममा सहभागी सबै विद्यालयलाई संस्थागत रुपमा सहभागिताका लागि कदरपत्र प्रदान गरिएको थियो ।
घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास महाशाखाका प्रमुख बिनोद गौतमको संयोजक्त्वमा ३ सदस्यीय निर्णायक मण्डल रहेको थियो । जसको सदस्यमा घोराही उपमहानगरपालिका अन्तरगतको पर्यटन शाखाका शान्ता भण्डारी पन्थ र समितिका सल्लाहकार तथा होटल माला ईनका सञ्चालक ओबिन्द्रबहादुर महरा रहनु भएको थियो ।
यस्तै प्रतियोगितामा सरस्वती मावि काठेकोहल, हापुर मावि निघुवार, बाल विकास मावि, मावि हापुर विजौरी, सिद्ध रत्ननाथ मावि, मावि झिङ्नी, गोरक्ष रत्ननाथ मावि चौधेरा, बाल कल्याण मावि खैरा, मावि सौडियार, अन्तराष्ट्रिय युवा वर्ष मावि घोराही १९ तोष, मावि रझेना र अन्नपुर्ण आवासिय माविका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगीहरुले पर्यटन र होटल व्यवसाय एक अर्काको परिपुरक भएको बताएका हुन् । पर्यटन क्षेत्रको प्रवद्र्धनले होटल व्यवसायीलाई सेवाग्रही मिल्ने र होटलको गुणस्तरिय सेवा प्रवाहले पर्यटकिय क्षेत्रमा पर्यटकको चाप बढाउन सहयोग पुग्ने बताएका हुन् ।
दाङका पर्यटकिय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आक्रषण बढाउन स्थानिय उत्पादन र कला संस्कृतिलाई प्रथमिकता दिदै थप सुविधा सम्पन्न र गुणस्तरिय सेवा प्रवाहका लागि लागी पर्नुपर्ने बताएका हुन् ।
समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्णायक मण्डलका संयोजक तथा घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास महाशाखाका प्रमुख गौतम, समितिका निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी, मावि रझेनाका शिक्षक मदन खनाल र पद्मोदय पब्लिक नमुना माविका देवा पौडेलले होटल व्यवसायीले पर्यटन र होटल व्यवसायीको विषयलाई उठान गर्दै विद्यार्थिको बोल्ने क्षमता विकासमा टेवा पुराउनु प्रसंशनिय भएको बताउनुभयो ।
समितिका महासचिव टिकाराम भुषालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममको सहजिकरण समितिका प्रेस संयोजक चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।
यस्तै स्थापना दिवसका अवसरमा भोली गते घोराही १३ मा पर्ने धार्मिक तथा पर्यटकिय क्षेत्र बाह्रकुने दहमा सरसफाई गर्ने र पर्सि गते रक्तदान कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको महासचिव टिकाराम भुषालले जानकारी दिनुभएको छ ।