Ad Area

उज्यालो अभियानमा शान्तिनगरको प्रतिवद्धता


दाङ, २ असार । शान्तिनगर गाउँपालिकाले आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा सार्वजनिक प्रतिबद्धता जनाएको छ । नेपालको संविधान र नेपाल सरकारको स्वास्थ्य नीतिबमोजिम आफ्नो पालिकाका सबै नागरिकलाई सहज, सुलभ एवं स्तरीय स्वास्थ्य सेवाका लागि सो गाउँपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले पालिकाकै सभाकक्षमा आयोजना गरेको जनप्रतिनिधिहरुका लागि अनुशिक्षण एवं सहजीकरण कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख एवं सबै वडाध्यक्षहरुले पालिकाका सबै आँखा रोगीहरुको सहज स्वास्थ्य उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल नेत्रज्योति संघका सहसचिव एवं अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पालिका आगामी आर्थिक बर्षका लागि बजेटिङको अभियानमा रहेको बताउँदै नयाँ बजेटले यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

‘हामीलाई तपाईहरुले पालिकाभरी करीब ५ सय ५४ जना मोतियाविन्दुका समस्या भएकाहरुको शल्यक्रिया गर्नुपर्ने तथ्यांक उपलब्ध गराउनुभो, त्यसका लागि धन्यवाद दिन चाहन्छु, अब हामीले पनि तथ्यांकलाई थप अपडेट गरेर कार्यपालिका बैठकमा अनुमोदन गरी आवश्यक प्रक्रिया अघि बढाउने छौं’, पालिकाका प्रमुख बस्नेतले भने । उनले निःशुल्क मोतियाविन्दुको अप्रेशनमा यसअघि पनि पालिकाले अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने पनि विश्वास व्यक्त गरे । उनले कार्यपालिका बैठकमा साना बालबालिकामा हुने दृष्टिदोषको समस्या र ज्येष्ठ नागरिकहरुमा हुने मोतियाविन्दु दुबैको उपचारमा छलफल गरिने पनि बताए ।

सो अवसरमा गाउँपालिकाका उपप्रमुख तथा विशिष्ट अतिथि प्रेमा केसी बुढाथोकीले प्रत्येक पालिकामा नेत्रज्योति संघको शाखा गठन गरी आँखा उपचार सेवाका थप योगदान पुराउन नेपाल नेत्रज्योति संघलाई आग्रह गरिन् । कार्यक्रममा शान्तिनगर गाउँपालिका–३ का अध्यक्ष मीनबहादुर केसीले आफ्ना नागरिकहरुको दृष्टि जोगाउने सन्दर्भमा जनप्रतिनिधिहरु सधै सकारात्मक हुने भन्दै आँखा अस्पतालसँग सहकार्य गरेर आफूहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासक किरण पौडेलले शान्तिनगर गाउँपालिका सहित नेपालभरकै आँखा रोगीहरुको तथ्यांक र नेत्रज्योति संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भूमिकाको तथ्यांक प्रस्तुत गरेका थिए । साथै उनले प्रस्तुत गरेको तथ्यांकमा शान्तिनगर गाउँपालिकामा जम्मा ५५४ जना मोतियाविन्दुका रोगीहरु भएको उल्लेख छ । तथ्यांक हरेक वडापिच्छेको उल्लेख गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad