Ad Area

पहिरोमा पुरिएर ३२ जना बेपत्ता, तीन सय ४० परिवार विस्थापित


दाङ ३, कार्तिक । लगातारको वर्षाका कारण देशभरको जनजीवन कष्टकर भएको छ । विभिन्न ठाउँमा भएको पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन् भने तीन सय ४० जनाको परिवार विस्थापित भएको छ ।

बझाङमा पहिरा जाँदा २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा हिजो बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएका छन् भने ३ सय परिवार विस्थापित भएका छन् ।

हुम्लाको खुर्पुनाथ गाउँपालिका खर्पेलको पहिरोमा परी एकै परिवारका ६ जना बेपत्ता भएका छन् । त्यस्तै जुम्लामा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । कैलालीमा कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै, माई खोलामा आएको बाढीले झापाको गौरीगञ्ज गाउँपालिकाको भाकुरमारी वस्ती डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका २ मा रहेको सो वस्ती डुवानमा पर्दा ४० घर विस्थापित बनेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad