Ad Area

श्रमजीवी तथा निम्नवर्गको पक्षमा काम गर्छु : डिसी


घोराही, २६ असार । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले निरन्तर श्रमजीवी र निम्नवर्गको पक्षमा नेकपा एमालेले काम गर्दै आएको बताएकी छिन् ।

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङले शनिवार आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै डिसीले यस्तो बताएकी हुन् ।  डिसीले चुनावी मैदानमा होमिँदा नेकपा एमालेबाट जित हासिल गरे पनि जनप्रतिनिधि भइसकेपछि सबैको साझा बनेर काम गर्ने बताइन । यसका साथै श्रमजीवी, निम्नवर्ग, पिछडिएका वर्ग तथा जातिको पक्षमा रहेर निरन्तर काम गर्ने उपप्रमुख डिसीले बताइन् ।

समाज दाङका अध्यक्ष शंकर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दाङका उपाध्यक्ष एवम् घोराही–१ का वडाध्यक्ष राममणि पाण्डेले जातीय तथा वर्गीय हिसाबले पछि परेका वर्गको हितका लागि पार्टी तथा आफूले निरन्तर काम गर्दै आएको बताए । पाण्डेले नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङले जातीय छुवाछूत न्यूनीकरण तथा दलित समुदायको उत्थानका लागि महत्वपूर्ण काम गर्दै आएको बताए ।

कार्यक्रममा घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरी, वडा नं. १७ का अध्यक्ष रामलौटन चौधरी, कार्यपालिका सदस्य कमला परियार, तुलसीपुरका कार्यपालिका सदस्य यमुना परियार, नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य ध्रुव गहतराज, पदम नेपालीलगायतले विचार राखेका थिए । समाजका केन्द्रीय सचिवालय सदस्य तथा दाङका सहइञ्चार्ज चुर्ण नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव उमलाल विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा वडा नं. १८ का सदस्य धनबहादुर बस्नेत, युवा समाजसेवी वीरेन्द्र खड्का, खानेपानी समितिका कार्यवाहक अध्यक्ष रामकुमार डाँगी, प्रेस चौतारी दाङका सदस्य कपील लामिछाने, स्थानीय झुपलाल नेपालीलगायतले क्लवहरूले आगामी दिनहरूमा यस्तै खालका कार्यक्रमको आयोजना गर्ने र गाउँसमाजमा देखिएका समस्याहरू समाधान गर्नका लागि समयानुकूल कार्यक्रमहरू ल्याउनका लागि अनुरोध गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad