Ad Area

स्वास्थ्य नै पहिलो प्रथामिकता : स्वास्थ्य राज्यमन्त्री केसी


तुलसीपुर, २६ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङको स्वास्थ्य र टरिगाउँ एयरपोर्ट आफ्नो पहिलो प्रथामिकतामा रहेको बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शले शनिवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले समयावधि छोटो भएकाले धेरै काम गर्न नसके पनि केही सुधारका काम गरेर देखाउने बताए ।

‘बिरामी भएपछि सुरुमा उपचारका लागि जाने राप्ती प्रादेशिक अस्पताल हो । यसको सुधार गर्न आवश्यक छ तर संघिय र प्रदेशका आ–आफ्नै कानुन हुँदा केही जटिलता छ, तैपनि पनि यसको स्तरवृद्धिका लागि मेरो पहिलो प्रयास हुनेछ’ मन्त्रीले केसीले भने । उपचारका विषयमा प्रादेशिक अस्पतालमा आएका जनगुनासोलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै मन्त्री केसीले जनस्तरबाट नै स्थापना भएको अस्पतालले जनतालाई नै केन्द्रमा राखेर सेवालाई थप प्रभाकारी बनाउनु पर्ने बताए ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि थप व्यवस्थित गर्दै यसको स्तर वृद्धिका लागि संघीय सरकारले ठूलो बजेट विनियोजन गरेको स्वास्थ्य राज्यमन्त्री केसीले बताए । दाङलाई हेर्ने दृष्टिकोण आफ्नो एउटै भएको बताउँदै टरिगाउँ एयरपोर्टको स्तरवृद्धि पनि यसै वर्ष हुने बताए । स्तरवृद्धिका लागि आवश्यक पर्ने बजेटमा कुनै कमी हुन नदिने समेत बताए ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को सदस्यमा मनोनित भएका व्यवसायी जनक खराललाई पनि स्वागत सम्मान गरिएको थियो । चेम्बरका महासचिव प्रेमप्रकाश गिरीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष सन्तोष खड्काले गरेका थिए ।

यसैबीच राज्यमन्त्री केसीले स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले आफू थोरै समयका लागि जिम्मेवारीमा रहेको भए पनि केही सुधारका योजना लागू गरेरै छाड्ने बताए । उनले भने ‘स्वास्थ्य सेवामा धेरै सुधारका कार्यक्रम ल्याउन जरुरी छ, नेपाली सिटामोल खान नपाएर छटपटिनु परेको पीडाबोध भइरहेको छ ।’

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेले यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको सुधार, दाङ एयर्पोर्ट, चारलेन सडक र राप्ती राजमार्गको स्तरवृद्धि गर्नुपर्नेलगायतका मागहरू समेटिएको स्मरण सहितको ज्ञापनपत्र समेत पेश गरेका थिए । सो अवसरमा पूर्व अध्यक्ष चिरञ्जीवी रिजालले यस क्षेत्रको समग्र विकासमा ध्यान दिन मन्त्री केसीको ध्याणाकर्षण गराएका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष रूपबहादुर खत्रीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad