Ad Area

आफ्नै भवनमा ‘सेवा घर’


दाङ, २६ असार । घोराही उपमहानगरपालिका–१५ दीपशिखा रोडमा रहेको मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’ आफ्नै भवनमा सरेको छ । घोराही उपमहानगरपालिकालाई मानवीय सुन्दरताको सहर निर्माण गर्ने उद्देश्यअनुसार घोराही उपमहानगरपालिका–१० वडा कार्यालयले वीपी बाटिकामा जग्गा उपलब्ध गराएपछि मानव कल्याण समाजले करिव ३५ लाखको लागतमा भवन निर्माण गरेको हो । नगर प्रमुख नरुलाल चौधरीले भवनको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अशक्त, अपाङ्ग तथा सहाराविहीन नागरिकको सेवा नै धर्म भएको बताएका थिए । सडक मानवरहित सहर निर्माणसँगै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र व्यवस्थापनमा मानव कल्याण समाजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरूमा समेत सहयोगलाई निरन्तरता दिने बताएका थिए ।

नगर प्रमुख चौधरीले अब सडकमा रहेका मानिसहरूको उद्धारसँगै मानिसहरूलाई सडकमा आउने वातावरण बन्न दिन नहुने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष दीपक पाण्डेले राज्यले गर्नुपर्ने काम संस्थाले गरेर ठूलो सहयोग गरेको बताए । साथै उनले आगामी दिनमा मानव सेवा घरको विकासका लागि सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले घोराहीलाई मानवीय सुन्दरताको सहर निर्माणसँगै सडकमा जीवन यापन गर्ने मानिसको उद्धारसँगै व्यवस्थापनका लागि मानव कल्याण समाजले महत्वपूर्ण योगदान गरेको बताएका थिए । उनले सेवा घरलाई लुम्बिनी प्रदेशकै नमुनाका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

मानव कल्याण समाजका अध्यक्ष सुनिता चौलागाइँको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १० का निवर्तमान अध्यक्ष चित्रबहादुर डाँगी, वडा नं. १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्ती मगर, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भूपबहादुर रावत, नारायणपुर सहरी स्वास्थ प्रबद्र्धन केन्द्रका डिल्ली आचार्य, नेपाल भारतमैत्री संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सुशील लम्साल, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज, पताञ्जली योग समितिका प्रेम शाह, जंगबहादुर पुनलगायतले बोलेका थिए ।

कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण मानव कल्याण समाजका सचिव विजय पोख्रेलले गरेका थिए । दुई वर्षअघि घोराहीमा घर भाडामा ल्याएर बौद्धिक तथा शारिरीक अपांगता भएका मानिसहरुको उद्धार र संरक्षणमा काम गर्दै सेवा घरले आएको थियो ।