Ad Area

बाढी पहिरोले देशभर कम्तीमा ३५ जनाको मृत्यु !


घोराही ३, कार्तिक । बेमौसमी वर्षा र नदी खोलामा आएको बाढी पहिरोले देशभर कम्तीमा ३५ जनाको मृत्यु भईसकेको छ  । बुधबार मध्यान्हसम्म ३५ जनाले ज्यान गुमाएका छन् भने ३२ जना अझै वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा डोटीका मात्र ९ जना छन् । यस्तै धनकुटा र हुम्लामा ६–६ जना, पाँचथरमा ५ , बैतडीमा ४ , सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको छ ।

नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजार भन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन् । डोटीको सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उनका दुई छोराहरूको मृत्यु भएको छ ।

यसैगरी, जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा रामी पार्कीको घर पहिरोले परीदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । त्यस्तै, सिन्धुलीमा मामाघरमा दसैँको टीका लगाएर फर्किने क्रममा चाल्ने खोलाले बगाएर हिजो फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेलको मृत्यु भएको छ ।

कालीकोटको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोले घर बगाउँदा १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको छ । डडेलधुराको गन्यापुर गाउँपालिका–१ भात्काडामा पहिरोमै पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ ।

Blog Post Ad

सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गस्थित विशाल राईको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयका अनुसार ४ वर्षीय निहान राई र ७ वर्षीया निसु राईको मृत्यु भएको हो । यस्तै, घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

Blog Post Ad Blog Post Ad