Ad Area

घोराही खानेपानी सस्थाको अध्यक्षमा सातौँ पटक डिसी निर्वाचित


दाङ, २७ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा देवीबहादुर डिसी ‘पानी बाजे’ नेतृत्वको गठबन्धन प्यानल विजयी भएको छ । आइतवार साँझ प्राप्त मत परिणामअनुसार गठबन्धनका उम्मेदवार डिसी २ हजार २ सय ९४ मत प्राप्त गरी संस्थाको अध्यक्षमा सातौँ पटक निर्वाचित भएका हुन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको स्थापनाकालदेखि आवद्ध भएका डिसी लोकप्रिय मतका साथ खानेपानीको अध्यक्षमा पुनः निर्वाचित भएका हुन । उनले आफ्ना प्रतिष्प्रधीलाई दोव्वर मतले पराजित गरेका हुन ।

डिसीले आफ्ना प्रतिष्प्रर्धी संयुक्त प्यानलका उम्मेदवार नारायणप्रसाद भुसाललाई १ हजार २ सय ९ मतले पराजित गर्दै अध्यक्षमा पुनः बाजी मार्न सफल भएका हुन् । अध्यक्षमा पराजित भुसालले १ हजार ८५ मत प्राप्त गरेका थिए । अध्यक्ष डिसीसहित गठबन्धन प्यानलबाट बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेयले १ हजार ८ सय ८२ मत, उपाध्यक्ष हेमन्ती पुन मगरले १ हजार ६ सय ९७ मत, सचिवमा धर्मेन्द्र श्रेष्ठले १ हजार ८ सय २६ मत र कोषाध्यक्षमा धु्रव केसीले २ हजार १ सय ९२ मत प्राप्त गरी बिजयी भएका हुन् ।

संयुक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका नरबहादुर बुढाथोकीले १ हजार २ सय ९७ मत, लक्ष्मीसिंह शाहले १ हजार ३ सय ९७ मत, सचिवमा दीपककुमार श्रेष्ठले १ हजार २ सय ९८ मत र कोषाध्यक्षमा सानुनारायण अधिकारीले ८ सय ९८ मत प्राप्त गरेर पराजित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कोषाध्यक्षमा केसी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा पनि गठबन्धन प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । जसमा गठबन्धनका उम्मेदवार किशोर आचार्य सर्वाधिक २ हजार ९२ मत ल्याएर सदस्यमा बिजयी भए । यसैगरी युवराज आचार्यले १ हजार ६ सय १० र दिनेश वलीले एक हजार ४ सय ७२ मत ल्याएर बिजयी भएका छन् । संयुक्त प्यानलका महेश न्यौपाने १ हजार ११, हरि खरेलले १ हजार २ सय १ र सुनिल बनियाँले ७ सय ९१ मत प्राप्त गरेर पराजित भएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका नारायण लामिछानेले ६ सय ६५ मत प्राप्त गरेर सदस्यमा पराजित भएका छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी भएका छन् । निर्वाचनमा प्राप्त मत परिणामका अनुसार महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्काले सर्वाधिक २ हजार १ सय ६७ मत ल्याएर बिजयी भएकी छिन् ।

त्यसैगरी गठबन्धनकै बिन्दु पाण्डेले १ हजार ८ सय ७० र यशोदादेवी पाण्डेले १ हजार ६ सय ६८ मत ल्याएर बिजयी भएका छन् । निर्वाचनमा संयुक्त प्यानलका महिला उम्मेदवार ज्योति रोका मगरले १ हजार ६६, लक्ष्मी अधिकारी १ हजार २ सय ६० र दिवकला पाण्डेले १ हजार ४३ मत प्राप्त गरेर पराजित भएका छन् । पदाधिकारीसहित खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।

Blog Post Ad

निर्वाचनमा गठबन्धन प्यानललाई नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिको समर्थन रहेको थियो भने संयुक्त प्यानललाई नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको समर्थन रहेको थियो । संस्थाको नयाँ नेतृत्वका लागि शनिवार भएको मतदानमा ३ हजार ५ सय ६५ मत खसेको थियो ।

Blog Post Ad Blog Post Ad